प्रतिनिधिसभा बैठक : शून्य समयमा कसले के भने ?
फाइल तस्बिर

प्रतिनिधि सभा सदस्य भूमिप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विसर्जन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिबद्धता र सम्झौताहरूको बेवास्ता गर्दै जबर्जस्ती बल पूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताए । 

उनले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणको लागि फोहोर गाडीहरू सफाइ गरेर फिर्ता गर्नुपर्ने स्थानीयको माग सम्बोधन हुनुपर्ने बताए । उनले भने, – ‘धादिङ र नुवाकोट जिल्लाको सिमाना धादिङ धुनिवेशी नगरपालिका वडा नं. १ मा निर्माण भएको बञ्चरे ल्याण्डफिल साइट सञ्चालनमा ल्याउने क्रममा गम्भीर विवाद उत्पन्न भई अवरोध सिर्जना भएको छ । सिलडोल भरिएर अस्तव्यस्त भइसकेपछि बञ्चरे सञ्चालनमा आउनु अनिवार्य थियो । तर सरकारको तर्फबाट सञ्चालनमा आउनु पूर्व नै आफूले कबुल गरेका प्रतिबद्धता र सम्झौताहरूको बेवास्ता गर्दै जबरजस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोज्नुले स्थानीयवासी आक्रोशित हुनु स्वाभाविक हो ।’ 

उनले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणको लागि फोहोर गाडीहरू सफाइ गरेर फिर्ता गर्ने लगायत स्थानीय बासिन्दाहरूको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरूलाई तत्काल सम्बोधन गरेर मात्रै फोहोर विसर्जन गर्न मागसमेत गरेका छन् ।

प्रतिनिधि सभा सदस्य मायादेवी न्यौपानेले सरकारले जनताको माग अनुरूप केही दिन नसकेकाले सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्ने टिप्पणी गरिन्  । उनले सरकार मंसिर ४ गते हुने निर्वाचन पछि कमण्डलु लिएर बनारस जानुपर्ने बताइन् । उनले भनिन् – ‘यो सरकारले जनतालाई केही पनि दिन सक्दैन । विद्यार्थीलाई किताब दिन सक्दैन । किसानलाई मल, बीउ र सिचाइ दिन सक्दैन । व्यवसायीलाई कच्चा पदार्थ दिन सक्दैन । उद्योगीलाई सञ्चालन गर्न अवरोध गर्छ । यो केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो ? यो सरकार खरानी घसेर मंसिर ४ गने हुने निर्वाचनमा कमण्डलु लिएर बनारसतिर जाओस् । दिल्लीतिर जाओस् । नेकपा(एमाले)का केपी शर्मा ओली पुनः प्रधानमन्त्री हुनुहुनेछ ।’

प्रतिनिधि सभा सदस्य मिना सुब्बाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भए पनि सरकारले नघटाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । इन्धनको मूल्य घटाउन नेपाल आयल निगमलाई ध्यानाकर्षण गराइन् ।

प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरे । उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई फोहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिए । उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्तावसहित एमालेसँग संवादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गरे ।



बैठकमा भट्टराईले भने – ‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ । आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । त्यस्तै झाडापखाला, हैजा लगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङ्डुङ्ती गन्हाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारको हुत्ति पनि छैन । त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज । म काठमाडौंका मेयर बालेन साहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रस्तावसहित नेकपा(एमाले)सँग त्यो भिजन छ । दृष्टिकोण छ । नेकपा(एमाले) पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ । यदि तपाई सरकारको भर पर्नुभयो भने तपाई असफल हुने निश्चित छ । सांस्कृतिक सहर काठमाडौंलाई सबै मिलेर रक्षा गरौँ ।’

प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि आयल निगम चुप लागेर बसेको बताए । उनले स्वचालित रूपमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गरे ।



प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले काठमाडौंको फोहोर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउन सक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गरेका छन् । राजधानी काठमाडौंको व्यवस्थापनका लागि समिति आवश्यक भएको उनको भनाई छ । 

‘मैले आजभन्दा ६० दिन अगाडी एउटा प्रस्ताव पेस गरेको थिएँ । फेरि पनि म यो प्रस्ताव पेस गर्न चाहन्छु, यदि इच्छाशक्ति भएको मान्छे भयो भने मात्रै फोहोर मैला उठ्छ काठमाडौंको । अस्तव्यस्त, ध्वस्त काठमाडौंजस्तै अहिले संसदको पनि कोरम पुग्छ कि पुग्दैन भन्ने स्थिति छ । संसद भवनको वरिपरि हेर्‍यो भने यहाँ चुहिएर बस्नु नहुने अवस्था छ,’ उनले भने, ‘यसलाई ध्यान पुर्‍याउनका लागि म फेरि पनि माग राख्न चाहन्छु । तत्काल शक्तिशाली एउटा समिति गठन गरियोस् । मैले माग गर्दा मैले माग गरेजस्तो भयो त्यस कारण जसको भए पनि इच्छाशक्ति भएको मान्छे राख्नुस् । शक्तिशाली समिति मुलुकको राजधानीलाई व्यवस्थापन गर्नलाई हो । हुन्छ भने मेरै नेतृत्वमा गरौँ ।’

प्रतिनिधि सभा सदस्य रेनुका गुरुङले निहारिका राजपुतले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने अवस्था किन आयो भनि सरकारलाई प्रश्न गरिन् । उनले सरकारको प्रशासनिक र न्यायिक संयन्त्र असफल भएकै हो भनि सरकारको जवाफ माग गरिन् । 

  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १३:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया