सरकार नालायक भएपछि अत्याचार बढ्यो : प्रेम सुवाल
फाइल तस्वीर

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् ।

खराव ठेकेदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको उनको भनाई थियो । 

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौंका धेरैवटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अभिलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन पनि सरकारसँग माग गरे । 

मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको भएपनि वर्तमान सरकारले उनीहरुमाथि कारबाहीको कुनै पनि ठोस कदम चाल्न नसेकेकोमा उनले आक्रोशसमेत व्यक्त गरे । 

उनले भने, ‘मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको, धनी भनाउँदाहरुले गरिबमाथि गरेको अत्याचार हो यो । सरकार नालायक भएपछि अत्याचार बढेको हो । ३२ वर्षयता बहुदलवादी दावी गरेकाहरुकै सरकारमा मिटरव्याजी साहुहरूको राज चलेकोमा जनताको ठूलो विरोध छ ।'

सांसद सुवालले सरकारमा गइसकेका राजनीतिक दलहरूको सरकारले काठमाडौं उपत्यकामा देखिएको फोहोरमैला, धुवा धुलो र प्रदूषणको समस्या समाधान गर्न नसक्ने दाबीसमेत गरे । 



सांसद सुवालले सांसदहरुले नै कर्जा प्रवाहमा हालीमुहाली गरेको देखिएको आरोप लगाउँदै सो सम्बन्धमा तत्काल छानबिन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

'नेपालका बैंकहरुले ४० खर्ब कर्जा प्रवाह गरेकोमा १ सय परिवारको कब्जामा ३० खर्ब रुपैयाँ रहेको र त्यसमध्ये केही वर्तमान संसदमा सदस्यसमेत त्यसरी कर्जा कब्जा गर्नेमा रहेको समाचार पनि छ । यो ऋण प्रवाहको छानबिन हुन जरुरी छ’ उनले भने 



  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १३:३६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया