सुर्खेतको भेरिगंगा नगरपालिका–५, गेरवानीमा जंगली जनावरको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका रामबहादुर चन्द र कवि वलीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो ।
उनीहरूको शव घरदेखि करिब ५ सय मिटरको दूरीमा फेला परेको प्रहरीले जनाएको छ । बिहान करिब ८ बजे घाँस काट्न निस्किएका दुवैजना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरी चौकी बबईमा खबर गरेका थिए ।
आफन्तको खबरपछि नेपाल प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बबईमा खटिएको देवदत्त गण र स्थानीयवासीको संयुक्त टोलीले दुवैजनालाई जंगली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृतक रामबहादुर चन्दको पेट र कवि वलीको घाँटीको भागको मासु खाएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । उनीहरूलाई कुन जनावरले आक्रमण गरेको हो भन्ने विषय अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।