काठमाडौं महानरपालिकाका मेयर बालेन शाहले फोहोरमाथि राजनीति नगर्न आग्रह गरेका छन् । आइतबार साँझ फेसबुकमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले फोहोरको रासमाथि गरिएको राजनीतिले कसैलाई अगाडि नबनाउने बताएका हुन् ।
'फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऊँ । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ' उनले भने ।
उनले धादिङस्थित सत्ता गठबन्धनका दलहरूले सार्वजनिक गरेको विज्ञप्ति पोस्ट गर्दै एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्नेमा असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? भन्दै प्रश्न गरेका छन् । बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर लैजान सधैँका लागि बन्द गर्ने भन्दै नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका स्थानीय नेताहरूले विज्ञप्ति जारी गरेपछि मेयर बालेनले असन्तुष्टि जनाएका हुन् ।
'हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ?' उनले भनेका छन् ।
उनले अवरोध नभएमा आइतबारबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीले बञ्चरेडाँडामा फोहोर लैजाने बताएको स्मरण गराउँदै तर आज दुई स्थानमा अलगअलग कारणले सडक अवरुद्ध गरेको बताएका छन् ।
उनका अनुसार कसैले फोहोर पानीको मुहानमा लगेर फ्याँकिदिएर र फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्दै अवरोध गरिएको थियो । दुवै अवरोधलाई समाधान गरेपछि अर्को अवरोधको कसरत भइरहेको उनले उल्लेख गरेका छन् ।
'यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ' उनले भनेका छन्, 'वास्तवमै त्यो कसरत हो भने त्यो विडम्बनापूर्ण हुनेछ । बञ्चरेडाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरू बनिसकेका छन् । भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरूले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरू छन् । ती सम्झौताहरूको पालना गर्नु सबैको कर्तव्य हो ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।