नेपाल खेलकुद महासंघको पहिलो विस्तारित बैठकमा ओलीले गाए– चुनाव जितेसी रमाउँला...

नेपाल खेलकुद महासंघ (नेकोस)को पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । आइतबार काठमाडौंमा सम्पन्न पहिलो विस्तारित बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बाँस्कोटा, नेकपा एमाले स्कुल विभाग उपप्रमुख ईश्वरी रिजाल, नेकपा एमालेका केन्द्रीय सदस्यहरु देवेन्द्र दाहाल, रमेश पौडेल, सरस्वती बस्नेत, नेपाल खेलकुद महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा एमाले पूर्णरुपमा निर्वाचनमा होमिएको बताए । ‘नेकपा एमालेको विरुद्धमा गठबन्धन गरेर देशको ढुकुटी रित्याएर, आर्थिक संकट निम्त्याएको यो गठबन्धनले सत्ताको दुरुपयोग गरेको छ,’ उनले भने, ‘राज्य प्रशासनको व्यापक दुरुपयोग गरेर निर्वाचनमा धाँधली गर्ने संकेत अहिले नै देखिएको छ ।’

नेपाल खेलकुद महासंघले विस्तारित बैठकमा नै घोषणा गरेको निर्वाचन परिचालन कमिटीको अध्यक्ष ओलीले स्वागत पनि गरे । ‘अहिलेको अवस्थामा नेकपा एमालेले एक्लै लडेर पनि निर्वाचन जित्ने निश्चित छ,’ उनले भने, ‘यो कमिटीले त्यसलाई थप सहयोग गर्नेछ । नेकपा एमालेले चुनाव नजितेसम्म आराम गर्ने छुट एमाले कार्यकर्तालाई छैन ।’

कार्यक्रममा ओलीले चालिस कटेसी रमाउँला बोलको गीत पनि सम्झिए । ‘चालिस कटेसी रमाउँला भन्ने गीत छ,’ उनले गाए, ‘एमालेले चुुनाव जिते रमाउँला ।’

कार्यक्रममा ओलीले एमालेले राष्ट्र, राष्ट्रियता र स्वाधिनता जोगाउनका लागि भए पनि नेकपा एमालेले चुनाव जित्नु अहिलेको आवश्यकता भएको जोड दिए । उनले अहिलेको पाँच दलीय गठबन्धनले कुनै पनि नीति तथा सिद्धान्तलाई अंगिकार नगरेको भन्दै नेकपा एमालेले देश जोगाउन आगामि निर्वाचनमा जित्नै पर्ने बताए । 



कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको देशको आर्थिक अवस्था र तीन तहका सरकारबारे आफ्नो धारणा राखेका थिए । त्यस्तै, कार्यक्रममा भानुभक्त ढकालले जनसंगठन र पार्टीको सम्बन्धबारे खेलकुद महासंघका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । ईश्वरी रिजालले नेपाल खेलकुद महासंघको विस्तारित बैठकमा जनताको बहुदलीय जनवाद र नेपाली समाजबारे आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा गोकुल बाँस्कोटाले चुनाव जित्ने रणनीतिक योजनाबारे आफ्नो धारणा राखेका थिए । उनले कार्यक्रममा आइतबार रबिबार भएकाले निर्वाचनको दिन सूर्य चुनाव चिन्ह हुने नेकपा एमालेलाई थप सहज भएको पनि बताएका थिए । ‘देउवाका ज्योतिष सम्भवतः नेकपा एमालेका जासुस होलान्,’ उनले भने, ‘नत्र आइतबार किन चुनावको घोषणा हुन्थ्यो ?’



कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेतले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कार्यक्रमबाट नै नेपाल खेलकुद महासंघ अब चुनावी अभियानमा होमिएको घोषणा गरे । कार्यक्रममा नै उनले निर्वाचन परिचालन कमिटीको पनि घोषणा गरे । ‘देश अब चुनावमय भएको छ,’ उनले भने, ‘अब समयमा नै चुनाव होस् भन्ने सुनिश्चितता गर्नुपर्छ, चुनाव एमालेमय बनाउन नेपाल खेलकुद महासंघ दिलोज्यान दिएर लाग्नेछ ।’

कार्यक्रममा नै नेपाल खेलकुद महासंघसँग आवद्ध स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो । निर्वाचित जनप्रतिनिधि तथा नेपाल खेलकुद महासंघले बनाएका ‘चुनावी कमाण्डर’हरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादासहित चुनावी अभियानमा होमिन खादा लगाइदिए ।

बैठकले आगामि प्रदेश र संघीय निर्वाचन केन्द्रित कृष्ण बस्नेत (पर्शुराम)को संयोजकत्वमा ९ सय ११ सदस्यीय निर्वाचन कमिटी घोषणा गरेको छ । यो कमिटीमा नेकोस राष्ट्रिय प्रतिनिधि परिषद्, नेपाल खेलकुद महासंघका स्थायी कमिटी, सचिवालय तथा केन्द्रीय सदस्य रहेका छन् । नेपाल खेलकुद महासंघले प्रत्येक दुई दुई जिल्लामा एक स्थायी कमिटी सदस्य, एक सचिवालय सदस्य र एक केन्द्रीय सदस्य रहने गरि कमिटी घोषणा गरेको हो ।​

 

  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार २३:१६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया