पार्टीका प्रतिनिधिले नै अवरोध गरेपछि बन्चरेडाँडामा सयौँ प्रहरी परिचालन

सरकारले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फेरी प्रहरी परिचालन गरेको छ । काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई सत्तारुढ दलकै प्रतिनिधिहरूले अवरोध गरेपछि प्रहरी परिचालन गरिएको हो ।

बन्चरेडाँडामा सरकारले सयौँको सङ्ख्यामा प्रहरी परिचालन गरेको छ। फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका २५ वटा गाडी आइतबार फोहोर खन्याएर फर्किएपछि सोमबार बिहानै अरू गाडी पनि त्यसतर्फ लागेका थिए । तर, गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहित स्थानीय बासिन्दाको टोलीले बिहानदेखि नै अवरोध गरेका छन् ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए । उनीहरूलाई नेकपा एमाले र राप्रपाका नेताले पनि साथ दिएका छन् ।

राजनीतिक दलहरूको अवरोधका कारण सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले फोहोरको गाडीमा भएको अवरोध हटाउन २५० जना प्रहरी परिचालन गरिएको बताए ।

नुवाकोट, धादिङ र काठमाडौं परिसरबाट प्रहरी खटिएको एसपी रमेश पाण्डेले जानकारी दिए । उनका अनुसार धादिङतर्फ स्थानीयले ४० वटा ट्रकहरू सडकमै तेर्स्याएर राखेका छन् । अहिले आन्दोलनकारीलाई प्रहरीले चारैतिरबाट घेरा हालेको स्थानीयले जनाएका छन् ।

यसअघि फोहोर बोकेर गएका गाडी अज्ञात समूहले तोडफोड गरेको थियो । ती व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार १५:२२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया