Thu, 21 Feb, 2019


[चोभारको चासो–६] स्थानीयलाई छल्दै सुक्खा बन्दरगाहको सार्वजनिक सुनुवाइ
निर्माणस्थलभन्दा डेढ किलोमिटर पर रिसोर्टमा गरिएको थियो इआइएका लागि सार्वजनिक सुनुवाइ
युग पाठक/सागर चन्द
फरकधार / माघ १२, २०७५

काठमाडाैं– चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहको सार्वजनिक सुनुवाइ स्थानीय बासिन्दालाई छल्दै डेढ किलोमिटर पर रिसोर्टमा गरिएको तथ्य खुलेको छ । निर्माणस्थलबाट करिब डेढ किलोमिटर दक्षिण पश्चिममा रहेको फेमिली क्याब रिसोर्टमा २०७४ पुस २३ गते उक्त सुनुवाइ गरिएको रिसोर्ट सञ्चालक कुबेर शाहीले पुष्टि गरेका छन् । उक्त सुनुवाइको चाँजोपाँजो वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले मिलाएको पनि उनले खुलाए ।

विश्व बैंकका प्रतिनिधि, बन्दरगाह निर्माता इन्टरमोडल ट्रान्सपोर्ट विकास समितिका पदाधिकारी, कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि सम्मिलित उक्त सार्वजनिक सुनुवाइमा बन्दरगाहको प्रत्यक्ष प्रभाव क्षेत्रका बासिन्दालाई भने बोलाइएको थिएन । सार्वजनिक सुनुवाइको सामान्य नियमसमेत छलेर स्थानीयलाई खबरै नगरिएको आरोप लगाउँछन् चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जन ।

वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा समावेश गरिएको उक्त सार्वजनिक सुनुवाइको विवरणमा सुनुवाइस्थल भनेर कीर्तिपुर नगरपालिका–६, भूतखेल, लप्सीबोट लेखिएको छ, तर कुनै स्थान उल्लेख छैन । त्यसअघि स्थानीय निकायसँग गरिएका विभिन्न छलफलको विवरणमा भने छलफलस्थल स्पष्ट उल्लेख छ । 

सन् २०१६ मार्चको पहिलो र सन् २०१७ अप्रिलमा सम्पन्न दोस्रो छलफल जलविनायक सामुदायिक वन कार्यालय परिसरमा भएको इआइए प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, २०७४ साउन ९ को छलफलस्थल कीर्तिपुर हिलसाइड होटल एन्ड रिसोर्ट र साउन २१ को छलफलस्थल वडा कार्यालय रहेको देखिन्छ । 

सार्वजनिक सुनुवाइअघिका सबै छलफलमा स्थानीय बासिन्दाका सरोकारहरू उठेको पनि इआइए रिपोर्टमा उल्लेख छ । चोभारमा बन्दरगाह बन्न नहुने स्थानीयका तर्कहरू पनि समावेश छन् । सम्पदा र वातावरणीय संकटका कुरा पनि उठेको छ । स्थानीयले चर्को विरोध गर्ने आँकलनपछि सार्वजनिक सुनुवाइचाहिँ निर्माणस्थलभन्दा केही पर रिसोर्टमा गरिएको र रिपोर्टमा उक्त भेन्यु उल्लेख नगरिएको प्रस्ट देखिन्छ ।

सार्वजनिक सुनुवाइको पत्तै नदिइएको भन्दै स्थानीय अझैसम्म आक्रोशित छन् । ‘हामीलाई त सार्वजनिक सुनुवाइका बारेमा थाहै थिएन,’ स्थानीय संगीता बोगटीले सुनाइन्, ‘यो बाटोमा पुलिसका गाडी र अरू ठूला गाडी धेरै हिँडेपछि मात्र हामीले थाहा पाएका हौं ।’

‘४० जना सहभागी रहेको सार्वजनिक सुनुवाइमा विश्व बैंक, इन्टरमोडल, कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी नै २१ जना थिए,’ संयोजक महर्जन भन्छन्, ‘बाँकी १९ जनामध्ये पनि धेरैजसो बन्दरगाहको प्रभाव क्षेत्रभन्दा बाहिरका मान्छेको उपस्थिति थियो ।’

उक्त सुनुवाइमा जम्मा दुईजना प्रभाव क्षेत्रका बासिन्दा उपस्थित थिए । उनीहरूमध्ये एक ज्ञानेन्द्र महर्जन प्रहरीका गाडीको चहलपहल देखेर पछ्याउँदै रिसोर्ट पुगेपछि मात्र आफूले बन्दरगाहसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम हुन लागेको थाहा पाएको बताउँछन् । उनी भन्छन्, ‘त्यतिखेर विश्व बैंक र इन्टरमोडलका प्रतिनिधिले स्थानीयका माग सम्बोधन नगरी बन्दरगाह निर्माण नहुने आश्वासन दिएका थिए ।’

कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काको अध्यक्षतामा सम्पन्न भएको उक्त सुनुवाइको विवरण इआइए रिपोर्टको परिशिष्ट ५ मा समेटिएको छ । सो विवरणमा स्थानीयका सरोकार उठेको पनि उल्लेख छ, तर चलाखीपूर्ण भाषाको प्रयोगमार्फत स्थानीयको सरोकारलाई सामान्यीकरण गर्दै बन्दरगाहलाई स्थानीयले स्वागत गर्ने निष्कर्ष निकालिएको छ ।

बन्दरगाहले स्थानीय सम्पदा तथा दैनिक जीवनमा नै असर पर्ने कुरा उल्लेख गर्दै प्रतिवेदनले स्थानीयको सहमति रहेको बताउँछ । यो निष्कर्षविपरीत स्थानीयवासी भने बन्दरगाहविरुद्ध आन्दोलित छन् । ‘हाम्रो सम्पदा मास्ने, जग्गा खोसेर सुकुमबासी पनि बनाउने त्यो बन्दरगाहलाई कसरी स्वागत गर्न सक्छौं ?’ स्थानीय संगीता बोगटी प्रश्न गर्छिन् । ‘३० वर्षसम्म सिमेन्ट कारखानाको धूलो सहेका हामीलाई अब ट्रकको धुवाँ र आवाजले मार्न खोजेको हो ?’ अर्की स्थानीयवासी लक्ष्मी खड्का प्रश्न गर्छिन् ।

हिमाल सिमेन्ट कारखाना बन्द भएपछि मात्र चोभारमा आन्तरिक र बाह्य पर्यटकको आवतजावत बढेको चोभारवासीको अनुभव छ । ‘पहिले पनि सिमेन्टले यहाँ कोही मान्छे आउँदैन थिए, कारखाना बन्द भएपछि मात्र मान्छेहरू यता आउन थालेका हुन्,’ स्थानीय ज्ञानेन्द्र महर्जन भन्छन, ‘राजधानीकै रैथाने हाम्रो जग्गा र सम्पदा सबै मासेर सुकुमबासी बनाउन खोज्दै छ सरकार ।’ 

घरको ढोका खोल्नासाथ देखा पर्ने बन्दरगाह स्वीकार्य नभएको बताउँछन् संरक्षण समिति संयोजक पञ्चलाल महर्जन । उनी भन्छन्, ‘घरको ढोका खोल्नासाथ बन्दरगाह देखिन्छ । बन्दरगाहको सट्टा अरू विकासका परियोजना ल्यायो भने हामी स्विकार्छौं, तर बन्दरगाह स्वीकार्य हुँदैन ।’

बन्दरगाहले चोभारको वातावरण मात्र होइन सांस्कृतिक सम्पदामा समेत प्रभाव पर्ने इआइए रिपोर्ट आफैं उल्लेख गर्छ । ‘ऐतिहासिक तथा सांस्कृतिक धरोहर जलविनायक मन्दिर र चोभारमा सवारीसाधनको अत्यधिक चापका कारण प्रभाव पर्नेछ,’ रिपोर्टमा उल्लेख छ । बन्दरगाह निर्माणस्थलबाट करिब पाँच सय मिटर दक्षिण–पश्चिममा निर्माणाधीन फलपूmल केन्द्रसम्मै बन्दरगाहले असर गर्ने पनि रिपोर्टमा उल्लेख छ ।

 

चाेभारकाे चासाे शृङ्खलाकाे पहिलाे स्टाेरी: 

सुख्खा बन्दरगाहको शिलान्यासमा राज्य आतंक

 

चाेभारकाे चासाे शृङ्खलाकाे दाेस्राे स्टाेरी:

पटकपटक किन सर्यो शिलान्यास ?

 

चाेभारकाे चासाे शृङ्खलाकाे तेस्राे स्टाेरी:

किन आन्दोलित छन् चोभारवासी ?

 

चाेभारकाे चासाे शृङ्खलाकाे चाैथाे स्टाेरी:

भूतखेलको जग्गामा ५२ वर्षको चलखेल

 

चाेभारकाे चासाे शृङ्खलाकाे पाँचाैं स्टाेरी: 

प्रदूषण र दुर्घटनाको कारक हुनेछ सुक्खा बन्दरगाह

 

 



यो पनि नछुटाउनुहोस्