एमाले प्रवेश गरेका माओवादी पूर्वनेताले पाउलान् टिकट ? चुनाव जित्ने सम्भावना कति ?

गत वर्षको २३ फागुनमा सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएपछि चार माओवादी केन्द्रका सांसद एमालेमै बसे । चैतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद् सचिवालयलाई दिएका थिए । 

ती चार सांसदले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको र केन्द्रीय सदस्य पद स्वीकार गरेकाले कारबाही गरेको ब्यहोरा पत्रमा थियो । माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका नेताहरू १ सय १५ दिनमा मन्त्री पदबाट मुक्त भए । 

६ जेठमा सर्वोच्च अदालतले गैर–सांसदलाई मन्त्री बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैर–संवैधानिक ठहर गरेपछि ७ गैर–संसाद मन्त्रीको जिम्मेवारी मुक्त भएका थिए । ६ जेठमा तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले गैर–सांसदलाई मन्त्रीको रूपमा काम नगर्न/नगराउनसमेत आदेश दिएको थियो । 

रौतहट–३ बाट प्रभु साह, कैलाली–४ बाट लेखराज भट्ट, अर्घाखाँची–१ बाट टोपबहादुर रायमाझी र कैलाली–३ बाट गौरीशंकर चौधरी माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए । अहिले पनि यी चार नेता एमालेमै छन् । ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा पनि उनीहरू दोहोरिने योजनामा छन् ।  

एमालेले भदौ दोस्रो साताभित्र पार्टी कमिटीको बैठक बोलाएको छ । सो बैठकमा चुनावी रणनीति, कार्ययोजना र उम्मेदवार तय हुने बताइएको छ । माओवादी छाडेर एमालेमा लागेका नेताहरूमध्ये केहीले समानुपातिकतर्फ नजर लगाएका छन् भने केहीले प्रत्यक्ष लड्ने तयारी गरेका छन् । यसैबीच, यहाँ आज एमालेतर्फ लाग्ने पूर्वमाओवादी नेताहरूको चुनावी क्षेत्रको चर्चा गरिएको छ ।  

रामबहादुर थापा ‘बादल’



माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला समेत रहेको चितवन पछिल्लो दशक चुनावी चर्चाको केन्द्रमा रहँदै आएको छ । चितवनमा यसपटक नयाँ ‘हेभिवेट’ उम्मेदवार भित्रिने हल्लाले भित्रभित्रै राजनीतिक माहोल तात्न थालेको छ । 

चितवन क्षेत्र नम्बर २ बाट ०७४ मा वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल विजयी भएका थिए । उनले ४४ हजार ६७० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए । यसपालि यो क्षेत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको आँखा लागेको छ ।



चितवन–२ मा भरतपुर महानगरपालिकाका १० वटा वडा ९१, २, ३, ४, ५, ७, १०, ११, १२ र २९०, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् । गएको स्थानीय निर्वाचनमा कालिका र इच्छाकामनामा एमाले विजयी भएको थियो भने भरतपुरका १, २, ४, ५, १० र २९ मा कांग्रेस, ३, ११ र १२ मा एमाले तथा ७ नम्बर वडामा एकीकृत समाजवादी विजयी भएका थिए । स्थानीय निर्वाचनमा वडा तहमा पनि गठबन्धन भएको थियो । यही क्षेत्रबाट बादल उम्मेदवार बन्ने चर्चा चलेको छ । यद्यपि, उनले समानुपातिकमा बस्ने योजना पनि बनाइएको बुझिएको छ ।

टोपबहादुर रायमाझी

टोपबहादुर रायमाझीले पुरानै क्षेत्र अर्घाखाँचीबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । ०७४ मा उनले ५० हजार ८३७ मतका साथ उनी विजयी भए । रायमाझीका प्रतिस्पर्धी कांग्रेसका रामबहादुर बिसीले ३२ हजार ५४४ मत ल्याए । 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अर्घाखाँचीमा एमाले ४८ हजार २६०, कांग्रेस ३७ हजार ९२५, माओवादी ७७९०, राजमोका वडाध्यक्षका उम्मेदवारले ४२९४, नेकपा एकीकृत समाजवादी ३७६३ मत पाएका थिए । यो हिसाबमा रायमाझी जित नजिक नै देखिन्छन् । 

२०६४, २०७० र २०७४ सालमा माओवादीबाट चुनाव जितेका रायमाझी ४ मंसिरमा हुने निर्वाचनमा एमालेबाट उम्मेदवार बन्ने अहिलेसम्म पक्कापक्की नै छ । तीनपटक लगातार जितेर ‘ह्याट्रिक’ गरी १५ वर्ष सांसद बनेका उनी चुनावी खेलाडीको रूपमा परिचित छन् । यद्यपि, यसपालि भने रायमाझीलाई चुनाव जित्न सहज छैन ।

लेखराज भट्ट

लेखराज भट्ट पनि कैलाली–४ बाट निर्वाचन लड्दै छन् । उनले अघिल्लो निर्वाचनमा माओवादीको तर्फबाट ३१ हजार ३५९ मत ल्याएर कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गरेका थिए । भण्डारीले २० हजार ९६० मत मात्र पाएका थिए । 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेस २२ हजार ९९७, एमाले २० हजार ८१, माओवादी १० हजार १२३, नेकपा एस ४०२९, राप्रपा ३२३, जसपा ६४, नागरिक उन्मुक्ति पार्टीले १६४ मत पाएको छ । कैलाली–४ मा कांग्रेस र माओवादी मिल्दा भट्टलाई धक्का लाग्ने देखिन्छ । 

मणि थापा

प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको प्युठानमा गत निर्वाचनमा एमाले र माओवादीको साथले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल विजयी भएकी थिइन् । उनले कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेललाई १६ हजार २८६ मतान्तरले पराजित गरेकी थिइन् । 

पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याए । यसपटक सत्ता गठबन्धन निर्वाचनसम्म रहिरहे गठबन्धनबाट पौडेल र नेकपा एमालेबाट पोलिटब्युरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाबीच प्रतिस्पर्धा हुने देखिन्छ । 

एमालेबाट प्यूठानका प्रभावशाली नेता मणिचन्द्र थापा पनि टिकटको आंकाक्षी छन् । प्रत्यक्षतर्फ टिकट नपाए उनले समानुपातिकमा चित्त बुझाउने सम्भावना छ ।

प्रभु साह

प्रभु साह २०७४ को निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट माओवादीको तर्फबाट विजयी भएका थिए । साहले प्रतिस्पर्धी उम्मेदवारलाई ९ हजार ६ सय ६ मतले पराजित गरेका थिए । त्यतिबेला उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्र यादवले १८ हजार १९३ मत ल्याएका थिए । साह २७ हजार ७९९ मतका साथ विजयी भए । 

एक्लाएक्लै प्रतिस्पर्धा गर्दा साह सहज स्थितिमा छन् । तर, गठबन्धन हुने स्थितिमा भने उनलाई चुनाव जित्नु ‘फलामको चिउरा चपाए’ जस्तो हुनेछ । उक्त क्षेत्रमा एमालेका वडाध्यक्ष मत २१ हजार ७२९, कांग्रेसको १९ हजार २४१, समाजवादीको ११ हजार ७३६, माओवादीको ११ हजार २७९, जसपाको ९ हजार ४८३ भोट रहेको छ । जनमत र लोसपा भने एक–एक हजार मतको हाराहारीमा छन् ।

  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार ११:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया