नाबालक छोरासहित पाँच वर्षदेखि ओढारको वास, गाउँपालिकाले लियो पालनपोषणको जिम्मा

लामो समय ओढारमा बस्दै आएकी बाजुराकी जलुदेवीको पालनपोषण हुने भएको छ । उनको पालन पोषणको जिम्मा बाजुराको खप्तड छेडेदह गाउँपालिकाले लिएको छ । 

पाँच वर्षदेखि ओडार बासको जीवन बिताइरहेकी जुलदेवी बुढाको पालनपोषणको जिम्मा गाउँपालिकाले लिएको हो । पाँच वर्षको छोरासहित ओढारको बासमा जीवन बिताउन बाध्य उनको जिम्मा खप्तड छेडेदह गाउँपालिकाले लिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।

बस्नका लागि घर र खाने अन्न उत्पादनका लागि जमिन नहुँदा उनी ५ वर्षदेखि ओढारमा बस्दै आएकी थिइन् । ओढारबास जीवन बिताइरहेकी उनको केही दिनअघि प्रहरीले उद्धार गरेको थियो । खप्तड छेडेदह गाउँपालिका १ काँडाकी जलुदेवी श्रीमान् र जेठी सौतासँग मिलेर बस्ने अवस्था नभएपछि ओडारको बास बसेर जीवन गुजारा गरिरहेकी थिइन् ।
 
जलुदेवीलाई प्रहरीले उद्धार गरेपछि थप पालनपोषण र जीवनसुरक्षाको जिम्मा गाउँपालिकाले लिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । आमाछोराको पालन पोषण, छोराको शिक्षा र स्वास्थ्य उपचार सबै जिम्मा पालिकाले नै लिने गरी संरक्षण गरिएको अध्यक्ष रावतको भनाइ छ ।

५५ वर्षको उमेरमा सहाराविहीन अवस्थामा जलुदेवी गाउँनजिककै जंगलको ओढारमा बस्दै आएकी थिइन् । आमा र छोरा ओढारमा बस्दै आएको जानकारी पाएपछि काँडा प्रहरी चौकीले गएको शुक्रबार उद्धार गरेको थियो । ओढारबाट उद्धार गरिएका आमाछोरा दुवैजना कुपोषणबाट ग्रसित छन् ।
 
श्रीमान् भाने बुढाले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि दोस्रो बिहे गरेका थिए । बझाङ माइतीघर भएकी जलुदेवीका तीन छोरा छन् । जेठा छोरा १८ वर्षका चक्र बुढा भारतमा बस्छन् । १२ वर्षका छोरा कुशल बुढा बुवासँग गाउँकै घरमा बस्छन् । ५ वर्षका कान्छा छोरा मीन भने जलुदेवीसँग ओढारमा बस्ने गरेका थिए ।

घरमा बस्ने र खाने अवस्था नभएपछि जलुदेवी ओढारमा बस्न बाध्य भएकी हुन् । श्रीमानले कान्छी भनेर हेला गर्ने, राम्रो व्यवाहार नगर्ने र खान बस्न र लगाउन लुगा कपडा नदिने भएपछि जलुले ओढारको विकल्प रोजेको स्थानीयको भनाइ छ ।
 
‘आमाछोराले ओढारमा पानी घट्टबाट संकलन गरेर ल्याएको पिठोको खोले पकाएर खाने गरेका थियौँ । पूरा पेट कहिल्यै हुँदैनथ्यो,’ जलुदेवीको दुःखेसो पोखिन्, ‘छोरालाई सकेसम्म अघाउने प्रयास गर्थेँ । तर, पनि बिहान–साँझ एकै प्रकारको पिठोको खोले खानै मन छोराले गर्दैन थ्यो ।’
 
दुइटी श्रीमती मिल्ने अवस्था नआएपछि श्रीमान् भाने बुढाले कान्छी श्रीमती जलुदेवीका लागि अलग्गै घर समेत बनाइदिएको भए पनि घरमा आगो लगाएर ओढारमै जलु बस्ने गरेको स्थानीयहरुले बताएका छन् । 

गाउँपालिकाको उद्धार टोलीलाई समेत नराम्रो व्यवहार गरेकी जलुदेवीले प्रहरीको टोली पुगेपछि मात्रै पालिकाको संरक्षणमा आउन तयार भएकी हुन् । गाउँपालिकाले पालिकाभित्रका अनाथ र बेसहाराहरुका लागि अर्को वर्षभित्र आश्रम निर्माण गरेर संरक्षणको जिम्मा संस्थागत रुपमै लिने योजना अघि सारेको छ ।





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १८:५५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया