साउनमा मात्रै कर्णालीका १७ स्थानमा पहिरो

चालू आर्थिक वर्ष २०७९/०८० सुरुभएसँगै कर्णालीमा कुल ३१ वटा विपद्का घटना घटिसकेका छन् । यसमा​ पहिरोका घटना धेरै छन् । चालू आर्थिक वर्ष सुरु भएको २६ दिनमा मात्र कर्णालीका १७ स्थानमा पहिरो गइसकेको छ । कर्णालीको भूगोल तथा मनसुनको समयमा प्रदेशमा पहिरोको जोखिम कायमै रहन्छ ।

साउन महिनामा घटेका ३१ विपद्का घटनामा १० वटा घरमा क्षति पुगेको छ । जसमध्य पाँच घर पहिरोले बगाएको प्रहरीको तथ्यांक छ । पहिरो र ढुंगा लागेर साउन महिनामा मात्र कर्णालीमा दुईजनाले ज्यान गुमाएका छन् । चालू महिनामा विपद्का कारण १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागीका चार, चट्याङका पाँच, अविरल वर्षाको एक, खोलाले बगाएको तीन, र ढुंगाले लागेको एक घटना कर्णालीमा घटेको छ । जिल्लागत रुपमा हेर्दा साउन महिनामा दैलेखमा विपद्का धेरै घटना घटेका छन् । 

दैलेखमा १०, जाजरकोटमा पाँच, रुकुम पश्चिममा तीन, सल्यानमा दुई, कालिकोटमा चार, जुम्लामा पाँच, मुगु र डोल्पामा एक–एक वटा विपद्का घटना घटेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । साउनमा घटेका विपद्का यी ३१ घटनामा दश लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ ।

कर्णालीमा वर्षेनी विपद्का सयौं घटना घट्छन्  । २०७६/०७७ यता ०७९ सम्ममा कर्णालीमा कुल दुई हजार चार सय ३४ भन्दा धेरै विपद्का घटना घटेको कर्णाली प्रदेश प्रहरीको तथ्यांक छ । 

यस अवधिमा हुम्लामा मात्र चार सय ५५ वटा विपद्का घटना घटेका छन् । विपद्का यी घटनामा ६ सय ९३ घरमा क्षति पुगेको छ । जसमा ६ जनाको मृत्यु, पाँच जना घाइते, दुई बेपत्ता र ६७ जना विस्थापित भएको प्रहरीको तथ्यांक छ । यसैगरी सुर्खेत र जाजरकोटमा समेत धेरै विपद्को घटना घटेको देखिन्छ ।



तीन आर्थिक वर्षको अन्तसम्ममा जाजरकोटमा चार सय ४१ वटा विपद्का घटना घटेका छन् । यी घटनामा परी ३० जनाले ज्यान गुमाएका छन् भने ३७ घाइते र ९१ जना विस्थापित भएको कर्णाली प्रदेश प्रहरीको तथ्यांक छ । यसैगरी सुर्खेतमा मात्र तीन आर्थिक वर्षमा तीन सय ३८ वटा विपद्का घटना घटेका छन् । यी घटनामा परी १३ जनाको मृत्यु, २२ घाइते, दुईजना बेपत्ता र ६७ जना विस्थापित भएका छन् । 

जिल्लागत रुपमा हेर्दा दैलेखमा एक सय ९०, रुकुम पश्चिममा दुई सय चार, सल्यानमा दुई सय ५७, कालिकोटमा दुई सय ४४, जुम्लामा एक सय ३१, मगुमा एक सय २९, डोल्पामा ४५ वटा विपद्का घटना घटेका छन् । तीन आर्थिक वर्षमा कर्णालीमा विपद्का कारण विपद्का कारण करिव तीन अर्ब २९ करोड १२ लाख ५५ हजार रुपैयाँ बढीको क्षति पुगेको प्रहरीको तथ्यांक छ ।



कर्णालीमा जोखिमका समयमा क्षति न्यूनीकरण, उद्धारलगायतका विषयमा कर्णाली प्रदेश सरकार तयारी अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकाया बताउँछन् । विपद्को समयका लागि कर्णालीमा पूर्व तयारीका रुपमा प्रदेशमा विपद् पूर्वाधार तथा प्रतिकार योजना बनिसकेको छ । यस योजनाअनुरुप विपद् जोखिम क्षेत्रको पहिचान, उद्धार पुनःस्थापनालगायत काम योजनाबद्ध रुपमा समावेश भएका छन् ।

वीरेन्द्रनगरमा विपद्का समयका लागि भनेरै बन्दोबस्तीका सामग्री संकलन तथा भण्डारण समेत गरिएको छ । ०७९ वैशाखयता गृह मन्त्रालयबाट प्राप्त बन्दोबस्तीका सामग्री वीरेन्द्रनगरमा तयारी अवस्थामा राखिएको रोकायाले जानकारी दिए ।

  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार २१:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया