अडानबाट पछि हटे राष्ट्रपति ट्रम्प, विधेयकमा हस्ताक्षर

वासिङ्टन– अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गरेपछि यहाँको बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो । 

अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म सरकारी खर्चका लागि समस्या उत्पन्न भएको थियो । त्यसको अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएपछि आगामी तीन हप्ताका लागि बाटो खुलेको समाचारमा जनाइएको छ । राष्ट्रपति ट्रम्पले यससम्बन्धी विधेयकमा शुक्रबार अबेरतिर हस्ताक्षर गरेका थिए । उनले सरकारी खर्चका लागि आगामी फेब्रुअरी १५ सम्म खर्च गर्न पाउनेगरी सो विधेयकमा हस्ताक्षर गरेका हुन् । 

मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने बजेटको व्यवस्था गर्नुपर्ने भन्दै उनले अमेरिकी सिनेटसँग आफ्नो माग राख्दै आएका छन् । तर, शुक्रबार पारित सो विधेयकमा पनि उनको मागबारे भने केही उल्लेख छैन । 

उता, संसद्ले पनि यस विषयमा बजेट दिने बारेमा कुनै पनि सहमति गरेको छैन । तर, पनि फेडरल सरकारलाई खर्चका लागि निकै समस्या उत्पन्न भएपछि ट्रम्पले सो विधेयक जारी गरेका हुन् । 

यसअघि राष्ट्रपति ट्रम्पले संसद्ले सीमा पर्खालका लागि करिब पौने ६ अर्ब अमेरिकी डलर बजेट दिनुपर्ने अडान राखेका थिए । उनको सो अडान अहिले पनि कायमै छ । उनले संसद्ले सो बजेटको व्यवस्था नगरेका कारण सरकारी खर्चसम्बन्धी प्रस्तावलाई रोक्दै आएका थिए । त्यो खर्चलाई सहजै अनुमति नदिने उनले चेतावनी दिएका छन् । 

शुक्रबार अमेरिकी विपक्षी दलका नेताहरूसँगको छलफलपछि सिनेटमा एकमतले सरकारी निकायहरूलाई आगामी तीन साताका लागि मात्र खर्चको कोष दिने सहमति भएको थियो र त्यसैबमोजिम कानुन पनि पारित भएको हो । 



राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको सो सीमा सुरक्षाबारेको कुराकानी भने जारी नै रहने सहमति कायम भएको पनि समाचारमा बताइएको छ । अमेरिकाको सत्तारुढ र विपक्षी दलबीच भएको पछिल्लो सहमतिअनुसार अमेरिकी संघीय सरकारलाई आगामी तीन हप्तासम्म सरकारी कोष उपलब्ध हुनेछ र त्यसबाट खर्चको अनुमति हुनेछ । 

अमेरिकामा छिर्दै आएका भनिएका अवैध आप्रवासीलाई रोक्न अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउन आवश्यक भएको राष्ट्रपति ट्रम्पको अडान रही आएको छ । विपक्षी दलले सो प्रस्ताव सम्भव नरहेको बताइरहेको छ । 



उक्त कानुनमा राष्ट्रपतिले ट्रम्पले शुक्रबार अबेरतिर हस्ताक्षर गरेको र यसका कारण संघीय सरकार र यसका निकायले खर्च गर्ने अधिकार खुला भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । 

अमेरिकामा गएको ३५ दिन देखि सरकारी खर्च ठप्प हुन पुगेको थियो । यस अवधिमा संघीय निकायका करिब आठ लाख कर्मचारीहरूले विनातलब काम गरिरहेका थिए । राष्ट्रपति ट्रम्पको यो पर्खालसम्बन्धी मागलाई तल्लो सदनमा निर्णायक हैसियतमा रही आएको विपक्षी डेमोक्र्याट पार्टीले अस्वीकार गर्दै आएको छ । सोही कारणले यसको बदलास्वरुप राष्ट्रपति ट्रम्पले पनि खर्च गर्ने अनुमति राकिदिएका थिए । 
 

  • प्रकाशित मिति : माघ १२, २०७५ शनिबार १५:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया