जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा शिक्षकहरूले पुनः तालाबन्दी गरेका छन् । शिक्षकहरूले जनकपुरधामस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधबार तालाबन्दी गरेका हुन् ।
शिक्षकहरुलाई स्थायी दरबन्दीमा काम गरेको अवधिको गणना गर्नुपर्ने, छोटो अवधिका लागि करारमा नियुक्त गर्नुपर्ने, कार्यरत शिक्षकहरुको हकमा स्थायी भर्नामा उमेरको हदबन्दी हटाउनुपर्नेलगायतका माग गर्दै शिक्षकहरूले भिसी र रजिष्ट्रारको कार्यालयमा ताला लगाएका छन् ।
गत पुस २७ गते भिसी र रजिष्ट्रारको पद समाप्त भएपछि उनीहरु घरबाटै बिदा भएका थिए । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १७ गते आर्ट फ्याकेल्टीका डिन डा. शैलेन्द्र नारायण मल्लिकलाई नयाँ कार्यबाहक भिसी र म्यानेजमेन्टका डिन जुगेश्वर साहलाई कार्यबाहक रजिष्ट्रारमा नियुक्त गरेका थिए ।
उनीहरु दुवैजना हाजिर भइसकेपछि शिक्षकहरूको समस्या समाधान गर्न वैशाख ६ गते उनीहरूसँग वार्ता गरी वैशाख ९ गते डा. विद्यासागर बर्मा, डा. बलराम झा र अनिल साहसहित ३ सदस्यीय समिति गठन गरे । शिक्षकहरुको तर्फबाट पनि समितिमा पेपर कोर्स कन्ट्रयाक्ट संघका सभापति दिलीपकुमार यादव, सचिव रविकुमार राज र शम्भु पोखरेल सामेल भई वार्ता गरेका थिए ।
वार्ताबाट समस्या समाधान गर्ने निष्कर्ष पनि भयो, तर भिसी र रजिष्ट्रारले काठमाडौंका डा. देवराज अधिकारीलाई विज्ञ नियुक्त गरेपछि पुनः त्यसमा बखेडा सुरु भयो । विज्ञले विश्वविद्यालयबाट ४ लाख रुपैयाँ शुल्क लिई दिएको रिपोर्ट सार्वजनिक नै नगरी शिक्षकहरुको समस्या समाधान गर्न कुनै चासो नदेखाउँदा आफूहरुले तालाबन्दी गरेको पेपर कोर्स कन्ट्रयाक्ट संघका सचिव रविकुमार राजले बताए ।
कार्यबाहक भिसी डा. शैलेन्द्र नारायण मल्लिकले विश्वविद्यालयमा आफूखुसी आफ्ना नजिकका व्यक्तिहरुलाई करारमा ३ जना चालक र कम्प्युटर ल्याब टेक्निसियन १ जनालाई नियुक्त गरेको उनले बताए ।
शिक्षकहरू विगतमा पनि सेवा आयोगद्वारा अपारदर्शी तरिकाबाट २६ जना दरबन्दी रहेकोमा २१ वटा सिटमा मात्र विज्ञापन खुलाएको भन्दै विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।