युएईमाथि नेपालको सानदार जित
१ सय ४५ रनकाे फराकिलाे अन्तर

काठमाडौं– युएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय किक्रेट सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले १ सय ४५ रनको सानदार जित दर्ता गराएको छ । 

टर जितेर ब्याटिङ रोजेको नेपालले २ सय ४२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । २ सय ४१ रनको लक्ष्य पछ्याएको युएईले १९.३ ओभरमा सबै विकेट गुमाएर ९७ रन मात्रै बनाउन सक्यो । 

युएईका लागि मोहमद युस्माले  २६, अस्फक महमेदले २०, कप्तान मोहमद नाबेदले १९ तथा चुन्दनगापोइल रिज्वानले १६ रन बनाउनुबाहेक अन्यले उल्लेख्य रन जोड्न सकेनन् । युएईका ५ ब्याट्समेन खातै नखोली आउट भए । 

युएइलाई सस्तैमा समेट्ने क्रममा नेपालका फास्ट बलर सोमपाल कामीले सानदार बलिङ गरे । ६.३ ओभर बलिङ गरेका कामीले १ मेडनसहित ३३ रन दिएर ५ विकेट लिए । यस्तै, नेपाली ‘गुग्ली ब्वाई’ सन्दीप लामिछानेले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै २४ रन दिएका थिए । नेपालका अलराउन्डर करण केसीले ५ ओभर बलिङ गर्दै २३ तथा पारस खड्का ४ आभेर बलिङ गर्दै १४ रन दिए । 

यसअघि, रोहित पौडेलको अर्धशतकको मद्दतमा नेपालले सानदार लक्ष्य तयार पारेको थियो । सातौँ नम्बरमा बलिङ गर्न आएका पैडेलले ५८ बलको सामना गर्दै ७ चौकासहित सर्वाधिक ५५ रन जोडेका थिए । 



सुरुदेखि नै केही सम्हालिएर खेलिरहेको नेपालले पहिलो विकेटको रुपमा विनोद भण्डारीलाई गुमाउँदा स्कोर बोर्डमा ६१ रन थियो । भण्डारी १५.३ ओभरमा आउट भएका थिए । ४६ बलको सामना गरेका उनले २ चौकासहित २१ रन जोडे । उनलाई अमिर हायातले आउट गरेका थिए । 

त्यसपछि, १८.३ ओभरमा नेपालले दोस्रो विकेटको रुपमा ओपनर ज्ञानेन्द्र मल्ललाई गुमायो । मल्ल ६ रनले अर्धशतक बनाउनबाट चुके । ६१ बलको सामना गरेका मल्लले ४ चौकासहित ४४ रन जोडेका थिए । उनलाई जाहिर खानले आउट गरे । दोस्रो विकेट गुमाउँदा नेपालको स्कोर बोर्डमा ७० रन थियो ।



दुई विकेटपछि भने नेपालको ब्याटिङ केही धरासायी भयो । मल्ल आउट भएको तीन ओभरपछि नेपालले तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमायो ।

क्रिजमा आउनासाथ केही आक्रामक देखिएका ऐरीले १२ बलमा २ चौकासहित १० रन मात्रै जोड्न सके । उनलाई अस्फर अहमदले एलबिडब्लु धरापमा पारेका थिए । 

नेपालले चौथो विकेटका रुपमा पवन सर्राफलाई गुमायो । २६.४ ओभरमा उनलाई इमरान हाइदरले आउट गरे । १५ बल मात्रै खेलेका सर्राफ ८ रन जोड्दा बाउन्ड्री प्रहार गर्न भने चुके । त्यतिवेला नेपालको स्कोर बोर्डमा १ सय १० रन थियो । 

त्यसपछि, थप ३ रन मात्रै जोड्दा नेपालले अर्काे विकेटका रुपमा कप्तान पारस खड्कालाई गुमायो । ३१ बल खेलेका उनी १ चौकासहित २१ रनमा आउट भए । त्यसपछि ब्याटिङमा आएका अरिफ सेख र रोहितकुमार पौडेले नेपालको पारी सम्हाले । 

४४.३ ओभरमा उनीहरको साझेदारी इमरान हइदरले तोडे । नेपालले छैटौ ओभरको रुपमा अरिफ सेखलाई गुमायो । ४९ बलमा २ चौका सहित उनी व्याक्तिगत २९ रनमा आउट भए । त्यतिबेला नेपालको स्कोर बोर्डमा १ सय ९५ रन थियो । 

यस्तै, रोहित पौडेललाई नेपालले सातौ विकेटको रुपमा गुमाउदा नेपालले २ सय ८ रन जोडेको थियो । 

त्यसपछि ब्याटिङमा आएका करण केसीले विस्फोटक ब्याटिङ गरे । ११ बल मात्रै खेलेका केसीले १ चौका र २ छक्काको सहयोगमा १८ रन जोडे । सोमपाल कामी भने ३ बल खेल्दै २ रन जोडेर पेभिलिएन फर्के । 

सन्दीप लामिछाने र ललित राजवंशी नटआउट रहे । १० बल मात्रै खेलेका सन्दीपले २ चौकासहित १४ रन जोडे भने ललितले ५ बल खेल्दै ३ रन जोडे ।


 

  • प्रकाशित मिति : माघ १२, २०७५ शनिबार १८:३१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया