[ब्लग] सिकारी आँखाहरुले पछ्याएको रात

गोंगबु बसपार्क । हुलिया पुरानो भैसके पनि भन्नलाई यसलाई नयाँ बसपार्क भन्ने चलन छ । स्वर्णिम सपना मस्तिष्कमा सजाएर थानकोटबाट काठमाडौं छिर्नेहरु अधिकांश यहीँ उत्रन्छन् । बसपार्कसँग अनेक किस्सा जोडिएका हुन्छन्, यसका पनि छन् ।

कामबाट वासतिर फर्कंदा मेरो लागि गोँगबु एउटा स्टेसन हुने गथ्र्यो । कार्यक्षेत्र पुतलीसडक । बालाजुबाट उत्तर–पश्चिम तारकेश्वर लोलाङको बसाइ । गुँडमा पुग्न झन्डै दुई घन्टा लाग्थ्यो । दिनभरको व्यस्त दैनिकीलाई थान्को लाएर कोठा फर्कंदा अँध्यारो पनि पछि लाग्दै आउँथ्यो । त्यो दिन भने अँध्यारोले पुतलीसडकमै भेट्यो ।

दिनहुँ महिला हिंसाका अनेक समाचार पढ्नुपर्छ । झ्याल, ढोकाले नपुगेर अज्ञात चेपबाट पनि बलात्कारका समाचार कानमा ठोक्किन आइपुग्छन् । त्यसैले होला, काठमाडौं अँध्यारो नहुँदै मन अँध्यारो भयो । सुन्धारा–एनएसी पुग्दासम्म अँध्यारो फैलिइसकेको थियो । 

एनएसी सडकपेटीमा मजस्ता यात्रु अरु पनि थिए । गोंगबुबाट खाली आएको थियो माइक्रो । सुन्धारा मोडबाट अघि लाग्नेबित्तिकै माइक्रोको ढोकामा यात्रुको तँछाडमछाड चल्यो । यात्रु भरिभराउ भएपछि ड्राइभरले एक्सिलेरेटर थिचे । हेडलाइटले अँध्यारो चिर्दै माइक्रो अघि बढ्यो ।

काठमाडौंको अविरल ट्राफिक जाम कम भइसकेको थियो । बाटो खालीखाली थियो, तर माइक्रोभित्र भने खचाखच, कोचाकोच । अधिकांश यात्रुको गन्तव्य सामाखुसीसम्म पुग्दा आइसक्दो रहेछ । ठमेल पीपलबोटबाटै एकपछि अर्को गर्दै यात्रुहरु ओर्लन थाले । सामाखुसी पुग्दा गाडी लगभग खाली भयो । गोंगबुको पुलवारि नै माइक्रोको अन्तिम बिसौनी रे । चालकले त्यो खबर सुनाउनका लागि केवल मेरा एक जोर कान बाँकी थिए, माइक्रोभित्र ।

बिसौनीमा ओर्लनुभन्दा यात्रुसँग के विकल्प हुन्छ र ? गोंगबु आकासे पुल रहस्यमय भएर ठीक मेरो अघिल्तिर ठडिएको थियो । नाम हो वा बदनाम हो, यो पुलसँग जोडिएका किस्साका अनेक रुप छन् । त्यो पुलको रहस्यले नै मनमा घन्टी ठोकिसकेको थियो । मुटुको धड्कन र डरको अनुभूति सँगसँगै बढे । विष्णुमती पुलको पेटीका फुटपाथ व्यवसायी आ–आफ्नो गन्तव्यमा गइसकेका थिए । बाँकी को थिए त ? आँखामा यो प्रश्न रहस्यजस्तो ट्वाल्ल टल्किरहेको थियो । को हुन् यी ? सायद अँध्यारोमा ग्राहक पर्खिरहेका होलान् ।



उनीहरुतिर आँखा नअल्झाई म अघि बढेँ । कोठा पुग्ने एक मात्र ध्येय मनमा गुन्जिरहेको थियो । एकाध खुलेका होटल, फाट्टफुट्ट आउँदैजाँदै गरिरहेका गाडी, मोटरसाइकलका हेडलाइटको उज्यालो । सडक बत्तीले छिचोल्न नसकेको गोँगबुको अँध्यारो । सुनसानको डगरमा बाटो ढुकिरहेझैँ कुनै अज्ञात आतंक । डर छचल्किरहेको मनमा घरी के घरी के कुरा चलिरहेको थियो । अघिपछि यात्रु पर्खिएर बसेका ट्याक्सीको लस्कर हुन्थ्यो । आज तिनीहरुलाई पनि ग्यारेज फर्कन हतार भइसकेछ कि क्या हो ? ट्याक्सी नदेख्दा पनि कुनै वेला त आँखा नै निराश हुँदोरहेछ ।

हडबडमा हिँडिरहेका खुट्टाले मनको उथलपुथलसहित आकासे पुल पार गरे । त्यसपछि आयो, विष्णुमतीको पुल । यो पुल पनि आज विष्णुमती तार्न बसेजस्तो लागेन । मानौँ, एम्बुस हो, पुल होइन । पेटीमा खुट्टा राख्न पनि भ्याएको थिइनँ, कतैबाट एउटा कर्कश पुरुष आवाज कानमा ठोक्किन आइपुग्यो । त्यो आवाजले भन्यो, ‘जाने हो ?’ परेला उचालिए, रमरम उज्यालोमा आँखाले घुइँघुइँ गरिरहेको पल्सर बाइक ठम्यायो । 



गोंगबुको अँध्यारो रात अन्तभन्दा फरक हुन्छ ? सुनेका अनेक कुरा मनमा छिटोछिटो मार्च गर्न थाले । के भइरहेछ, ठम्याउन सकिरहेको थिइनँ । यत्तिकैमा दायाँबायाँ आँखा डुलाएँ, तर सुरक्षाकर्मी देखिएनन् । लाग्यो, अँध्यारो आफैँले गोंगबु क्षेत्रको सुरक्षा गरिरहेछ । यस्तो अवस्थामा बोल्नु उचित हुन्थेन । फटाफट अघि बढेँ ।

पुल आधा पार गर्न मात्र भ्याएको थिएँ । एक्सिलेरेटर बटार्दै गरेको त्यो युवक म हिँडेको दिशातिरै आयो र छेउमा आएर ब्रेक लगायो । पुनः सोध्यो, ‘जाने हो ? हजार दिन्छु !’ अब भने म पक्का भइसकेको थिएँ, पाइला अघि बढ्न खोजेनन् । खुट्टा भारी भए । बुझिसकेको थिएँ, ऊ मेरो शरीरको मोल लगाइरहेको थियो । ढुंगा टिपेर उसको मोललाई जवाफ दिन मन थियो, तर सकिनँ । डरले मलाई रोक्यो ।

पछ्यौराले मुख छोपेको थिएँ । रिसले तम्तमाइलो भैसकेको मेरो अनुहार उसले देखेको थिएन । टक्क अडिएँ र त्यो पुरुषलाई घुरेर हेरँे । अनि एक्कासि मेरो लगाबाट ठूलो स्वर फुत्कियो, ‘आफ्नो बाटो जान्छस् कि, पुलिस बोलाऊँ ?’ पुलिस शब्द सुन्नासाथ ऊ आत्तियो । बाइकको एक्सिलेरेटर बटार्याे र भाग्यो । ऊ भागे पनि मेरो डर भागेको थिएन । मुटु साबिकभन्दा दुई गुणा तेज चल्न थाल्यो । माछापोखरी चोक कटेर बाइपास पुग्दा पनि फर्किएर हेर्दै थिएँ, कतै त्यो फेरि पछ्याउँदै त छैन ? कतै ऊ साथी बोलाउन पो गयो कि ?

बाइपासमा केही बार र रेस्टुरेन्ट खुल्लै थिए । त्यहाँबाट फुत्किएका मधुर गीतका धुन बाहिरसम्म आइरहेका थिए । दायाबायाँ नहेरी, सडकमा भड्किरहेका कुनै पनि आवाजमा ध्यान नदिई दौडिएँ । कुकुरसमेत सुस्ताएजस्तो गरी वेलावेला मात्र मन्द स्वरमा भुक्थे । घडी हेरेँ, रातको साँढे दश भएको रहेछ । तै पनि ट्याक्सी पाइन्छ कि भनेर बाइपासको भित्तातिर आँखा डुलाएको मात्र के थिएँ, एउटा लिखुरे केटो ठोक्किउँलाझैँ मेरो नजिक आयो ।

‘कता हिँडेको ? आऊ आज यतै बसौँ,’ बडो बेपरबाह भएर ऊ बोल्यो । मानौँ, मेरो मोल लगाउन सकिनेमा ऊ ढुक्क थियो । अबचाहिँ त्यसको प्रतिवाद गर्नभन्दा कोठामा पुग्न हतार थियो । आमाले भनेको झट्ट याद आयो, ‘दिन आफ्नो, रात अर्काको ।’ आमाले सायद ठीकै भन्नुभएको थियो । के यहाँ खसेको रात यिनै यौनका प्यासा आभाराहरुको मात्रै हो त ?

केही नसुनेझैँ म सरासर अघि बढेँ । लिखुरेले के हार मान्थ्यो, पछिपछि आयो । केही पाइला पछ्याएर उसले फेरि भन्योे, ‘एक हजार दिन्छु, बस्ने हो ?’ अघिदेखि तेज रफ्तारमा चलिरहेको मुटु यसपटक बाहिरै आउलाजस्तो भयो । मुटुभन्दा छिटो चल्यो पाइला । म झन् छिटोछिटो पाइला चाल्न थालेँ । म जति छिटो हिँड्थे, लिखुरे पनि उति नै फटाफट पछि लागिरहेको थियो । दुई मिटर पछाडि हुँदो हो ऊ । उसले तेस्रोपटक बोली लगायो, ‘ल दुई हजार नै दिएँ, हुन्छ ? कता हिँडेकी के ?’

मेरो कन्पारो तातिसकेको थियो । ठूलै साहस निकालेर पछाडि फर्किएँ र चिच्याएँ, ‘मर्न जान लागेको, जान्छस् ?’ ऊ हच्कियो, टक्क रोकियो र बडो घिनलाग्दो गरी हाँस्यो । त्यसपछि फरक्क फर्केर ऊ बाटो लाग्यो । म थोरै ढुक्क भएँ । सय मिटर अगाडि एउटा ट्याक्सी रोकिइरहेको रहेछ । मलाई नै पर्खेर बसेझैँ त्यसलाई मैले बडो अनुग्रहित नजरले हेरेँ । सर्लक्क सेलाएको मुटु, अचानक फेरि ढक्क फुल्यो । यो ट्याक्सीको पो के भर ?

दुई सिकारीबाट फुत्किएर आएकी म, अर्को सिकारीको फेला पर्न चाहन्नथेँ । छेउमा गएर चालकलाई नियालेँ, अलि साहस आयो । अनि सोधेँ, ‘सानो पुलसम्म जाने हो ?’ ‘तीन सय लाग्छ !’ चालकले मलाई हेर्दै नहेरी भन्यो । उसलाई न मेरो मनस्थितिको जानकारी थियो, न त मतलब नै । अष्टनारायण हलदेखि पुलसम्मको दुरी आधा किलोमिटर होला । तर, चालकले तीन सय रुपैयाँ ठटाउन खोज्यो । भर्खरै बेहोरेका सिकारी आँखाको डर छँदै थियो । तीन सय रुपैयाँ तिर्न राजी भएर म ट्याक्सीमा बसेँ । 

ट्याक्सीको सिटमा बसेर ढोका लाइसकेपछि बल्ल सास फर्किएझैँ भयो । मन विस्तारै सुस्ताउन लाग्यो । पैसा बढी लिए पनि सहयोगी रहेछन्, चालक दाई । मिजासिलो । बोलिरहनुपर्ने । कच्ची बाटोमा गिटी बालुवा थुपारिएको थियो । छल्दै गाडी गुडाउँदै गर्दा गन्तव्य आइपुग्न सात मिनेट लाग्यो । कोठामा आइपुग्दा ११ बजेको हुँदो हो ।

त्यो दिनको दसाबाट त उम्किन सकेँ । तर, पुरुषका यस्ता सिकारी आँखाबाट बारबार कसरी बच्न सकौँला ? प्रश्न र बेचैनीले बिहान हुँदासम्म निदाउन दिएन ।
 

  • प्रकाशित मिति : माघ १२, २०७५ शनिबार १९:३१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया