बैतडीमा पछिल्लो समयमा दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको छ । जिल्ला कारागार बैतडीमा रहेका १६ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको कारागारका जेलर धारा भण्डारीले बताइन् ।
केही कैदीबन्दीमा अत्यधिक ज्वरो देखिएपछि बुधबार पिसिआर परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको थियो । आज उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको उनले बताइन् ।
कोरोना संक्रमण देखिएका १६ जना कैदीबन्दीलाई अलग्गै कोठामा राखिएको जेलर भण्डारीले बताइन् । कारागारभित्र ठाउँको अभावमा व्यवस्थापन गर्न निकै समस्या रहेको छ ।
२५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीबन्दी रहेका छन् । कोरोनाबाट बच्नका लागि भौतिक दूरी कायम गर्नुपर्ने भए पनि कारागारमा भने कोचाकोच गरेर बस्नुपर्ने बाध्यता रही आएको जेलर भण्डारीले बताइन् ।
२५ जनाको क्षमता भएको कारागारमा ९३ जनाको बसोबासको व्यवस्थापन गर्न निकै गाह्रो भएको उनले सुनाइन् । १६ जना कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै बसोबास र खानपिनका लागि समेत समस्या भएको, तर जेनतेन व्यवस्था गरिएको उनले बताइन् ।
उनले भनिन्, ‘हामीले कारागार भित्रका कैदीबन्दीका लागि जेनतेन बस्ने व्यवस्था मिलाएका थियौँ । १६ जनामा कोरोना पुष्टि भएपछि अहिले उनीहरुलाई अलग्गै कोठामा राखेका छौँ ।’
जिल्लामा समुदायस्तरसम्मै कोरोना फैलिसकेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । कोरोना संक्रमणको जोखिम बढ्दै गएका स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा उनले जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।