विद्यार्थी कम भएपछि लमजुङका दुई विद्यालय मर्ज

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समायोजन (मर्ज)लाई लमजुङको एक स्थानीय तहले अघि बढाएको छ । विद्यार्थी कम र शिक्षक धेरै भएपछि दोर्दी गाउँपालिकाले वडा नम्बर १ भारतेको महादेव निम्न माध्यमिक विद्यालय र कर्मोदय प्राथमिक विद्यालय मर्ज गरेको हो ।

गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको दोर्दी शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेका अनुसार महादेव विद्यालयलाई सूर्योदय माध्यमिक विद्यालयमा मर्ज गर्ने र कर्मोदय विद्यालयलाई रत्न प्राथमिक विद्यालयमा मर्ज गर्ने र यस विद्यालयको बालविकासलाई भने यथावत् राख्ने निर्णय गरेको छ । त्यस्तै, समायोजन भएका विद्यालयका शिक्षकहरूलाई पालिकाको विभिन्न विद्यालयमा पठाउने निर्णय भएको उनको भनाइ छ ।

गत वर्षको सीमा क्षेत्र (क्राइट एरिया) अनुसार एकदेखि पाँच कक्षा भएको विद्यालयमा २० जनासम्म विद्यार्थी भएकोमा दुई वटा दरबन्दी र एउटा बालविकास दिने थियो । तर, अहिले भारतेमा रहेका कुनै पनि विद्यालयमा उक्त अनुसार विद्यार्थीको संख्या भएन, सबैमा ७–८ जनाको संख्या विद्यार्थी भएका कारण र विद्यार्थीलाई पायक पर्ने, शिक्षकलाई अन्य विद्यार्थी भएको विद्यालयमा समायोजन गर्ने गरी मर्ज गरेको शिक्षा प्रमुख लामिछानेको भनाइ छ ।

महादेवमा रहेका पाँच दरबन्दीका शिक्षकमध्ये तीन जना प्रावि र दुई निमावि दरबन्दी रहेकोमा अन्य विद्यालयमा समायोजन र कर्मोदयका दुईजना शिक्षकहरूलाई समायोजन भएको विद्यालय र अन्य विद्यालयमा व्यवस्थापन गरिएको बताइएको छ ।

शिक्षा मन्त्रालयले ०७० सालमा विद्यालय समायोजनका लागि निर्देशिका तयार पारेको थियो । सोहीअनुसार स्थानीय तहमा विद्यालय गाभ्ने अभियान अघि बढ्न थालेको छ । पालिकाको अन्य वडाहरूमा रहेको विद्यालयहरूको अनुगमन गर्ने र विद्यालय समायोजन गर्नुपर्ने विद्यालय समायोजन गर्ने शिक्षा प्रमुख लामिछानेले बताए । पालिकाभरि ५१ वटा विद्यालय रहेका छन् ।





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार २१:१५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया