निर्वाचन २०७४ मा ३० हजार मतान्तरले बाजी मारेका पार्वत गुरुङको कस्तो छ वर्तमान शक्ति ?

कुनै बेला दोस्रो झापा भनेर चिनिने कम्युनिस्ट गढ मानिएको दोलखामा पनि आसन्न चुनावको रस्साकस्सी सुरु भएको छ । प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको दोलखामा गत निर्वाचनमा एमाले र माओवादीको साथले एमालेका पार्वत गुरुङले जित हात पारेका थिए । गुरुङले कांग्रेस उम्मेदवार रुद्रबहादुर खड्कालाई ३० हजार ६४४ मतान्तरले पराजित गरेका थिए ।

गुरुङले ५५ हजार ४५७ मत र खड्काले २४ हजार ८१३ मत ल्याएका थिए । प्रदेश सभातर्फ एमालेका पशुपति चौलागाईं र माओवादी केन्द्रबाट विशाल खड्का निर्वाचित भए । चौलागाईंको निधन भइसकेको छ भने खड्का हाल बागमती प्रदेशको वन तथा वातावरण मन्त्री छन्  ।

नेकपा फुटका कारण यसपटक पहिलेको जस्तो परिस्थिति छैन । एमाले हाल फुटसहित एक्लिएको छ भने माओवादी, कांग्रेस र एकीकृत समाजवादी एकै गठबन्धनमा छन् । जिल्लाका ९ मध्ये ७ पालिकामा यो गठबन्धनको नेतृत्व छ । अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेका राजनीतिक दलका पुरानै अनुहारका नेतादेखि केही नयाँ उम्मेदवार पनि चुनाव लड्न अघि सरेका छन् । 

दोलखामा दुई निर्वाचन क्षेत्र रहेका बेला २०५१ को मध्यावधि चुनावबाहेक कांग्रेसले बहुदल पछिका अन्य आम निर्वाचनबाट सांसद जित्न सकेको छैन । संघीय सांसदको टिकट गठबन्धनबाट कुन दलले पाउने निश्चित भएको छैन ।

दोलखाको प्रदेशसभा ‘क’ मा जिरी नगरपालिकासहित तामाकोशी, बैतेश्वर, मेलुङ्ग र गौरीशंकर गाउँपालिका रहेका छन् । पाँच पालिकामध्ये जिरी र मेलुङ्ग एमालेले जितेको छ भने बैतेश्वर कांग्रेस, गौरीशंकर माओवादी र तामाकोशी समाजवादीले जितेका छन् ।

त्यसैगरी प्रदेशसभा ‘ख’ मा जिल्ला सदरमुकाम रहेको भीमेश्वर नगरपालिकासहित कालिन्चोक, शैलुङ्ग र बिगु गाउँपालिका रहेका छन् । ४ पालिकामध्ये बिगु र शैलुङ्ग माओवादी र भिमेश्वर र कालिन्चोक कांग्रेसले जितेका छन् । ९ वटै पालिका प्रमुखको मतलाई आधार मान्ने हो भने गठबन्धनसँग ५१ हजार ५७२ मत छ । 



पालिका प्रमुखको मतलाई ‘कट अफ पोइन्ट’ मान्दा एमाले गठबन्धनभन्दा १२ हजार २५२ मत पछाडि छ । स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई आधार बनाउने हो भने गठबन्धनसँग ५३ हजार ९६५ मत छ । वडाध्यक्षको मतलाई ‘कट अफ पोइन्ट’ मान्दा एमाले गठबन्धनभन्दा १४ हजार ९१५ मत पछाडि रहेको छ । वडाअध्यक्षमा राप्रपाको पनि १५११ मत रहेको छ ।

प्रतिनिधिसभाको लागि प्रमुख तीन राजनीतिक दलबाट प्रखर रूपमा देखिएका तीन÷तीनजना उम्मेदवारलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ । दोलखामा एमालेबाट बहालवाला सांसद तथा पूर्वमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल र नेता बालकृष्ण सिवाकोटी सशक्त दाबेदार हुन् । दोलखा एमालेभित्रको सत्ता भनेर चित्रित गुरुङ प्रतिनिधिसभाको टिकटका प्रमुख दावेदार हुन् । 



विगतमा पनि उनी पशुपति चौलागाईं जस्ता सिनियरलाई पन्छाएर टिकट लिन सफल भएका थिए । ओली सरकारको प्रवक्ता भएर काम गरिसकेको, बाम गठबन्धन हुँदा देशभरमा तेश्रो धेरै मत र सबैभन्दा धेरै मतान्तरले जितेका कारण उनले आफूलाई प्रवल दावेदारको रूपमा चित्रित गर्ने गरेका छन् । उनी एमालेमा जनजातिको सिनियर नेताभित्र पर्छन् भने केन्द्रीय कमिटीमा पोखरेलभन्दा अगाडि पुगेका छन् ।

पोखरेलले पनि अघिल्लोपटक टिकट नपाएको भन्दै योपटक जसरी नि पाउनुपर्ने भन्दै अड्डी कस्ने बुझिन्छ । उनी पर्यटनमन्त्रीसमेत भइसकेका छन् । हाल एमालेको पोलिटब्युरो सदस्य छन् । एमालेको कार्यकर्ता पङ्क्तिदेखि जिल्ला कमिटी सदस्यसम्मले यसपटक नयाँ अनुहार ल्याउनुपर्छ भन्दै गर्दा लगानी बोर्डका सदस्य बालकृष्ण सिवाकोटी वैकल्पिक नेताको रूपमा देखिएका छन् । 

सफल व्यवसायी तथा लगानीकर्ताको छवि बनाएका सिवाकोटी पछिल्लो समय जिल्लाकै राजनीतिक क्रियाकलापमा व्यस्त हुन थालेका छन् । गठबन्धनको उम्मेदवार प्रदेश ‘क’ बाट उठाउने हुँदा प्रदेश ‘ख’ को भोट ब्यांक क्यास गर्न उनी सम्भावित दावेदार हुन सक्छन् ।

जिल्लाकै कतिपय नेता उनलाई पार्टी अध्यक्ष ओलीको किचन क्याबिनेटको रूपमा चित्रित गर्छन् । संघको नभए प्रदेशको टिकट उनको पक्कापक्की जस्तै छ । माओवादीकी सिनियर महिला नेत्रृमध्ये एक हुन् जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य देवी खड्का । 

२०६४ सालमै प्रत्यक्ष निर्वाचन जितेर जिल्लाका समकालीन नेताभन्दा अगाडि मन्त्री भएकी थिइन् खड्का । चुनावमा उम्मेदवारी दिन चाहेको खण्डमा खड्का नै माओवादीबाट प्रमुख दाबेदार हुन् । दोलखामा माओवादीका संस्थापक नेता गंगा कार्की पनि प्रतिनिधिसभाका आकांक्षी हुन् । 

हालसम्म कुनै लाभको पदमा नपुगेको सहानुभूति हुने भएपनि पछिल्लो समय जिल्लाका राजनीतिक क्रियाकलापमा कार्कीको सक्रियता घट्दो छ । हाल उनी पार्टीको पोलिटब्युरो सदस्य छन् । कार्कीलाई राष्ट्रियसभामा ल्याउने गरी पनि नेताहरूले छलफल चलाएका छन् ।

वहालवाला सांसद तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का संघीय निर्वाचनको गठबन्धनको तर्फबाट चर्चामा रहेका नेता हुन् । मन्त्री हुँदा जिल्लामा ल्याएको बजेट र मन्त्रालयको सफल कार्यकालका कारण उनी गठबन्धन इत्तर खेमामा पनि उत्तिकै लोकप्रिय छन् । पार्टीले नै युवालाई प्राथमिकता दिने निर्णय गरेको हुँदा प्रचण्डको रडारमा उनी पर्न सक्छन् । प्रदेशसभा जित्दा पनि उनको लोकप्रिय मत आएको थियो ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा रहेका जिपछिरिङ लामा कांग्रेसका सबैभन्दा बलिया र प्रबल दाबेदार हुन् । देउवानिकट मानिने उनी जिल्लाका सबैभन्दा सिनियर कांग्रेस नेता पनि हुन् । यसपटक गठबन्धनबाट टिकट पाए प्रत्यक्ष चुनाव जित्ने उनको धोको पूरा हुनसक्छ ।

हाल लामा समानुपातिकतर्फका संघीय सांसदसमेत हुन् । अन्य दुई केन्द्रीय नेता कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटीले पनि आकांक्षा राखे पनि उनीहरूको सम्भावना भने न्यून छ । लामा देउवा, शिवाकोटी गगन थापा र काफ्ले कृष्ण सिटौलानिकट मानिन्छन् ।

निवर्तमान सभापति ताराबहादुर कोइरालाले सशक्त दाबेदारी प्रस्तुत गरेका छन् । पार्टीको चारपटक जिल्ला सभापति बनेका उनी २०५६, २०६४ र २०७० को निर्वाचनमा कांग्रेसबाट क्षेत्र नं २ मा सांसद लडेका थिए । जनमतका हिसाबले लोकप्रिय रहेका उनी कोइराला समूहनिकट मानिन्छन् । कठिन समयमा पार्टी जोगाएका उनको दाबेदार स्वभाविक रहेको कांग्रेस वृतमा चर्चा चल्ने गरेको छ ।

संघीय सांसदमा सशक्त दावेदारीका रूपमा आफूलाई उभ्याएका अर्का नेता हुन् पूर्वजिल्ला सभापति रुद्रबहादुर खड्का । उनले २०४९ मा जिल्ला विकास समितिको सभापति पदमा निर्वाचित भएर ५ वर्ष जिविस चलाएका थिए । त्यसपछि खड्का लामो समय अमेरिका पलायन भए । 

२०७४ को संघीय निर्वाचनमा माओवादी र एमालेबीच गठबन्धन हुँदा उनी उम्मेदवार बनेर पराजित भएका थिए । खड्का देउवानिकट मानिन्छन् । 

  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार १४:३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया