प्लटिङमा पहिरो, बस्ती जोखिममा [फोटो फिचर]

सहरमा खाली ठाउँ छैन । जग्गा व्यवसायीले  काठमाडौंको काँठका कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन् । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ । 

वर्षे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ । पहिरोका कारण सबैजसो प्लटिङमा बसोबास गराउँदा ठूलो क्षति हुने सम्भावना छ । निजी क्षेत्रलाई व्यवस्थित बसोबासका लागि जग्गा टुक्रा पारेर प्लटिङ गरेर बिक्री वितरण गर्न दिने कानुनी व्यवस्था छैन । 

स्थानीय सरकारसँग जग्गा सम्म्याउने अनुमति लिएर व्यवसायीले मालपोतसँग साँठगाँठ गरेर जग्गा कित्ताकाट गरेर प्लटिङ गर्दै आइरहेका छन् । अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ । बर्खा याम सुरु भएपछि बस्तीहरू अव्यवस्थित प्लटिङकै कारण जोखिममा परिरहेका छन् । काठमाडौंका सीमित क्षेत्र मात्र होइन, प्लटिङको समस्या उपत्यकाभर नै छ । काठमाडौं उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो । 

अव्यवस्थित प्लटिङका कारण भौतिक संरचनासँगै स्थानीयवासीको अन्नबालीमा पनि ठूलो क्षति पुगेको छ । प्लटिङ गर्नलाई खोलाको बगरसमेत छोडिएको छैन । प्लटिङले जथाभाबी समस्या सिर्जना गरिरहे पनि स्थानीय सरकार मौन छ । साथमा स्थानीयहरू पनि मौन बस्न बाध्य छन् । 

खेतीयोग्य जमिनमा जथाभाबी खण्डीकरण रोक्न सरकारले वि.सं.२०७४ साउन २६ मा कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रूपमा बिक्री वितरण गर्न/गराउन नपाउने निर्णय गरेको थियो। उक्त निर्णयले सर्वसाधारणलाई समस्या भएको र भू-माफियासमेत मौलाएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५ पुस २७ मा भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानुन तर्जुमा नहुन्जेल फर्म, संस्था वा कम्पनीले स्थानीय तहको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो । 

मन्त्रालयको नयाँ निर्देशनमा स्थानीय तहबाट खेतीयोग्य जग्गा होइन भन्ने लेखी आए कित्ताकाट गर्न सकिने व्यवस्था छ । जथाभाबी प्लटिङका कारण अहिले धेरै समस्या सिर्जना भएका छन् । प्लटिङ गरिएका जग्गामा पहिरो गएको छ भने बस्ती नै जोखिममा परिरहेको छ । न्युज एजेन्सी नेपालले आजको फोटो फिचरमा यिनै समस्यालाई दृश्य चित्रमा कैद गरेको छ । काठमाडौं उपत्यकामा अवैध प्लटिङमा गएको पहिरो आजको फोटो फिचरमा । 



 



 

  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार ९:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया