logo-img

बझाङमा गाँजा : तीन वर्षमा १९ जना पक्राउ,  १२० किलो चरेस नष्ट

बझाङमा ठूलो मात्रामा लागूऔषध गाँजा र चरेसको कारोबार हुने गरेको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङको तथ्याङ्कअनुसार पछिल्लो ३ वर्षमा मात्रै गाँजा चरेससँग सम्बन्धित मुद्दामा १९ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूबाट ९२ किलो ७१९ ग्राम चरेस बरामद गरी नष्ट गरिएको छ । यो सँगै पछिल्लो ३ वर्षको अवधिमा १२० किलो चरेस नष्ट गरिएको प्रहरीको तथ्याङ्क रहेको छ ।

बझाङमा पछिल्लो तीन आर्थिक वर्षमा आर्थिक वर्ष २०७६/०७७ देखि आ.व. २०७९/०८० को हालसम्म लागूऔषध चरेससहित १५ जना पुरुष ४ जना महिला गरी १९ जना कारबाहीको दायरामा पुगेका छन् । ४ जना पुरुष र १ जना महिला गरी ५ जना फरार रहेका र उनीहरूको खोजी भइरहेको डिएसपी जागेश्वर भण्डारीले बताए ।

आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी ११ जना पुरुष २ जना महिलालाई प्रहरी पक्राउ गरेको छ भने १ जना पुरुष फरार रहेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । उनीहरूबाट यस आ.व.मा ३९ केजी २ सय ३९ ग्राम चरेस बरामद गरिएको थियो । यस्तै आ.व. २०७७/०७८ मा २५ केजी ७ ग्राम ८१ मिलिग्रामसहित २ पुरुष १ महिलालाई प्रहरीले लागूऔषध चरेससहित पक्राउ गरेको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा २७ केजी ७८० ग्राम लागूऔषध चरेससहित १ महिला पक्राउ परेकी छन् भने दुई जना पुरुष फरारको सूचीमा छन् । अहिलेसम्म २७ केजी ७८० ग्राम चरेससहित २ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसै गरी एक महिला एक पुरुष फरारको सूचीमा रहेको भण्डारीले बताए ।

भाँगो फडानी गर्दै प्रहरी

लागूऔषध नियन्त्रण तथा दुर्व्यसनलाई निरुत्साहित पार्नका लागी भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न ठाउँमा चरेस र भाँगो उत्पादनका लागि लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान नै सुरु गरेको छ । गाँजा खेतीबाट चरेस, गाँजा उत्पादन हुने भएका कारण खेतबारीमा लगाइएको खेती र विभिन्न ठाउँमा आफैँ उम्रिएको गाँजा नष्ट गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।



अहिले जिल्लाको वित्डचिर गाउँपालिका, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदारस्युँ गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका लगायतका पालिकाहरूमा लगाएको र आफैँ उम्रिएको गाँजालाई प्रहरीको टोली, स्थानीय बासिन्दा तथा जनप्रतिनिधि मिलेर नष्ट गरिरहेका छन् । साथै अन्य पालिकाहरू सुर्मा, तल्कोट, खप्तड छान्ना लगायतका गाउँपालिकाहरुमा पनि गाँजाका बोटहरूलाई नष्ट गरिने अवस्थीले बताए ।

जिल्लाभरि आइतबारसम्म मात्रै झन्डै १० रोपनी जग्गामा उम्रिएको र लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । गाँजाबाट चरेस उत्पादन हुने भएका कारण चरेसलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यले आफैँ उत्पादन भएको र लगाएको गाँजालाई नष्ट गर्ने अभियान जिल्लाभरि सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । उनले भने , ‘बझाङमा लागु औषधको मुख्य जग भनेको यही गाँजा नै रहेछ । यसलाई मात्रै नियन्त्रण गर्न सके लागु औषधमा लागेका धेरै युवाहरूको भविष्य सुध्रिने र चरेस पैठारी गर्ने क्रममा सामान्य नागरिक फस्ने भएका कारण यसबाट सामान्य नागरिकहरू जोगाउनका लागि यो अभियान सुरु गरिएको हो ।’



बझाङको साइपाल गाउँपालिका, वित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका, बुंगल नगरपालिकाका माथिल्लो भागहरूमा स्थानीयहरूले गाँजाको खेती गर्ने गरेको पाइन्छ । 

  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया