अंकारा– भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले तत्काल निर्वाचन गराउन युरोपियन युनियनले दिएको अन्तिम चेतावनीलाई अस्वीकार गरेका टर्कीबाट प्रसारण हुने टेलिभिजन सिएनएन टर्कले जनाएको छ । भेनेजुएला इयुको सदस्य नभएकाले उसको निर्देशन मान्न आफू बाध्य नहुने राष्ट्रपति मदुरोको भनाइ छ ।
अमेरिकी टेलिभिजन सिएनएनको टर्कीबाट प्रसारण हुने च्यानल ‘सिएनएन टर्क’सँगको अन्तवार्तामा मदुरोले भने, ‘उनीहरूले तत्काल निर्वाचन गर्न भेनेजुएलालाई दिएको चेतावनीपूर्ण सर्त फिर्ता लिनुपर्छ । एक सार्वभौम राष्ट्रलाई कसैले अन्तिम चेतावनी दिन सक्दैन ।
जर्मनी, फ्रान्स, स्पेनलगायत युरोपेली शक्तिराष्ट्रहरूले शनिबार भेनेजुएलाले आठ दिनभित्र निर्वाचन नगरे उनीहरूले विपक्षी नेता हुँवा गुइदोलाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिने चेतावनी दिएका थिए ।
गुइदोले वर्तमान राष्ट्रपतिले अघिल्लो कार्यकालमा देशमा भ्रष्टाचार, महँगी, मुद्राको अवमूल्यनजस्ता जटिल समस्यालाई रोक्न नसकेको तर निर्वाचनमा सत्ताको व्यापक दुरुपयोग गरी आफू नयाँ कार्यकालका लागि पुनः निर्वाचित भएको घोषणा गरेको, मानव अधिकारको प्रत्याभूति दिन नसकेको, देशमा एकतर्फी शासन गर्न खोजेको आरोप लगाउँदै गत बुधबार आफूलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेका थिए ।
घोषणाको आधा घण्टामै अमेरिकाले गुइदोलाई मान्यता दिने बताएको थियो । क्यानडा, ब्राजिल, पेरुलगायत दक्षिण अमेरिकी मुलुकहरूले पनि गुइदोलाई मान्यता दिने जनाएका थिए ।
भेनेजुयलाका राष्ट्रपति मदुरो निर्वाचित राष्ट्रपति भएको बताउँदै रुस, चीन, टर्कीलगायत मुलुकले भने मदुरोलाई नै मान्यता दिने अडान राखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।