अमेरिकी सभामुखका श्रीमान् पललाई ५ दिनको जेल सजाय
फरकधार / ८ भदौ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीका श्रीमानलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएर दुर्घटना गराएको अभियोगमा ५ दिनको जेल सजाय तोकिएको छ । उनलाई ३ वर्षका लागि निरीक्षणमा राखिने भएको छ । क्यालिफोर्नियामा गत मेमा भएको दुर्घटनासँग सम्बन्धित आरोप पलले मंगलबार स्वीकार गरेका छन् ।



पल पेलोसीले पहिले नै दुई दिन जेलमा बिताइसकेका छन् भने अन्य दुई दिनको लागि आचरण क्रेडिट पाएको नापा काउन्टी सुपीरियर कोर्टका न्यायाधीश जोसेफ सोल्गाले बताएका छन् । पेलोसीले एक बाँकी दिनको सट्टामा अदालतमा आठ घण्टा काम गर्ने भएका छन् ।



राज्यको कानूनले मादक पदार्थ सेवन गरेर गाडी चलाएको अपराध गरेका प्रतिवादीहरूलाई उनीहरूको वकीलमार्फत उपस्थित हुन अनुमति दिन्छ । आफ्नो प्रोबेशनको एक भागको रूपमा पल पेलोसीले तीन महिनाको ड्राइभर क्लासमा उपस्थित हुनु पर्नेछ ।



त्यस्तै, उनले गाडीमा इग्निशन इन्टरलक यन्त्र जडान गर्नुपर्नेछ । जहाँ उनले गाडीको इन्जिन सुरु हुनु अघि मादक पदार्थ सेवन गरे नगरेको चेक गर्न सासको नमूना प्रदान गर्नुपर्नेछ । उनले करिब ७ हजार डलर जरिवाना पनि तिर्नुपर्नेछ ।



सान फ्रान्सिस्कोको उत्तरमा नापा काउन्टीमा मे २८ मा भएको दुर्घटनापछि पल पेलोसीलाई पक्राउ गरिएको थियो । उनको मादक पदार्थ परीक्षण गर्दा रगतमा अल्कोहलको मात्रा शून्य दशमलव ०८२ प्रतिशत रहेको देखाएको थियो, जुन कानुनी सीमाभन्दा माथि हो ।

राति १० बजेपछि दुर्घटना स्थल पुगेका अधिकारीहरूले युन्टभिलको वाइन कन्ट्री टाउन नजिकै पेलोसीलाई २०२१ पोर्शे क्यारेराको ड्राइभरको सिटमा र अर्को ड्राइभरलाई स्पोर्टस युटिलिटी सवारीसाधन बाहिर उभिरहेको भेटाएका थिए ।



क्यालिफोर्निया राजमार्ग गस्ती अधिकारीहरूका अनुशार पेलोसीका खुट्टा लडखडाइरहेका थिए भने उनको बोली अस्पष्ट थियो । साथै उनीबाट रक्सीको कडा गन्ध आइरहेको थियो । दुर्घटनामा अर्को गाडीका ४८ बर्षका चालक घाइते भएका थिए ।

पक्राउपछि पेलोसीलाई ५ हजार डलर जमानतमा रिहा गरिएको थियो । न्यान्सी पेलोसी त्यो बेला ब्राउन युनिभर्सिटीमा सम्बोधन गर्न रोड आइल्याण्डमा थिइन् ।



  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार ८:४८:२२,   अन्तिम अपडेट : भदौ ८, २०७९ बुधबार ८:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया