डा. साहमाथि कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन, ‘जेल विथवाउट बेल’ लागू गर्न माग

गत बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करण साहमाथि भएको कुटपिटको विरोध गर्दै काठमाडौंमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । बुधबार चिकित्सकले काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

‘डा. करण शाहलाई न्याय दे', 'जेल विथआउट बेल लागू गर'लगायतका नारा लेखिएको प्लेकार्डसहित चिकित्सक तथा स्वास्थ्यकर्मी बुधबार सडकमा उत्रिएका हुन् ।

वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा. कन्जाङ्ग शेर्पा, नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय सदस्य डा. हरिप्रसाद ओली, डा. अजय शाह, सिभिल अस्पतालका डा. अजित मल्लिक, कान्ति बाल अस्पतालका पेडियाट्रिक डेन्टिस्ट डा. कुम्भराज जोशीलगायतले विरोध प्रदर्शनमा सहभागी थिए । चिकित्कहरूले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्दै कुटपिट गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरेका हुन् ।

उनीहरू अस्पतालभित्र सुरक्षित रूपमा काम गर्न पाउनु पर्ने माग गरे । प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. साहमाथि गत बिहीबार अस्पताल प्रशासनका कर्मचारी धनबहादुर शाहीले हातपात गर्दै ज्यान मार्ने धम्कीसमेत दिएका थिए । सोही घटनाको विरोधमा यहाँका चिकित्सक र अन्य स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् ।

वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा. शेर्पाले भने,  ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अनवरत रूपमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने अमार्यादित कार्यले मनोबल गिरेको छ । काम गर्ने वातावरण प्रतिकूल बन्दै गएको छ । त्यसैले प्रतिष्ठानमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाहीको माग गर्छौं । जेल विथआउट बेलको कानुनलाई अनिवार्य कार्यान्वयन होस् भन्ने हाम्रो माग छ ।'

उनका अनुसार अहिले देशैभरबाट डा. साहमाथि भएको आक्रमणको विरोध भइरहेको छ । उनले जेल विथआउट बेलको कानुनलाई कार्यान्वयन नगरिए थप संघर्षका कार्यक्रम गर्ने बताए ।



कान्तिबाल अस्पतालका पेडियाट्रिक डेन्टिस्ट डा. जोशीले स्वाथ्यकर्मीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको बताए । ‘सिसिटिभी फुटेजमा देखिएको दृश्यले डा. साहको ज्यान लिने उद्देश्यले क्रमण भएको देखिन्छ । यसको घोर भर्त्सना गर्दछु । सरकारले हालसालै ल्याएको स्वास्थ्य ऐनमा भएको जेल विथआउट बेलको व्यवस्था अनिवार्य लागू गरिनु पर्दछ,’ उनले भने ‘ऐनमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तीन वर्ष जेल र तीन लाख जरिवानाको व्यवस्था गरिएको छ ।’



नेपाल चिकित्सक संघ जुनियर्स डक्टर्स संघका उपसंयोजक डा. रविन बस्नेतले राज्यले चिकित्सकहरूको पेशागत सुरक्षा कायम गर्न नसकेको बताए । चिकित्सकहरूको रोजगारी र पेशागत सुरक्षा कायम गर्न सरकार चुकेको उनको तर्क छ ।

‘नेपालमा राजनीति गर्नेले सुशासन कायम गर्न सकेका छैनन् । राजनीति गर्ने प्रधानमन्त्री, मन्त्रीले नै सुशासन कायम गर्न सकेको छैनन् । दूरदराजमा गएर काम गरिरहेका डाक्टरलाई हतोत्साहित गर्ने तरिकाले जुन आक्रमण भएको छ यो राज्यलाई नै प्रतिउत्पादक छ' उनले भने ।

'एक त नेपालमा चिकित्सकले उपयुक्त रोजगारी नपाएर विदेश जानु पर्ने बाध्यता छ । जसले गर्दा दक्ष जनशक्ति पलायन भएर ब्रेन ड्रेन भएको अवस्था छ । अर्कोतिर राज्यले भएका चिकित्सकले शान्तिपुर्ण तरिकाले काम गर्न पाउने वातावरण सिर्जना गर्न सकेको छैन । त्यसैले, अध्यादेशमार्फत आएको जेल विथ आउट बेलको ऐनलाई यथाशीघ्र कार्यान्वयन गर्नु पर्दछ’ उनले भने ।

गत बिहीबार शाहीले आफ्नो छोराको टाँका नकाटेको भन्दै डा. साहमाथि हातपात गरेका थिए । चिकित्सक तथा स्वास्थ्यकर्मीले जुम्लास्थित प्रतिष्ठानमा ३ र ४ भदौ हातमा कालोपट्टी बाँधेर उक्त घटनाको विरोध जनाएका थिए । ५ भदौमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए । प्रदर्शन गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय जुम्लामा समेत ज्ञापनपत्र पेस गरेका थिए ।

सोमबारदेखि पेन डाउनको कार्यक्रम राखेको भए पनि घटनाको छानबिन भइरहेकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाले जानकारी दिए ।

आकस्मिक कक्षभित्र चिकित्सक कुटिएको विषयमा बुझ्न नेपाल चिकित्सक संघका उपाध्यक्ष अनिल कार्की, महासचिव बद्री रिजाल र कोषाध्यक्ष प्रकाश बुढाथोकी जुम्ला पुगेका थिए । उनीहरूले जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल, डीएसपी नरेन्द्र चन्द, सरकारी वकिल र पीडितलाई भेटेका थिए ।

आन्दोलनमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चिकित्सक संघको टोलीले यो घटनाविरुद्ध संस्थागत रूपमा लड्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १६:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया