एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने

नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन ९ भदौलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो । 

गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा २ भदौमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा ९ भदौमा सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो । 

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए । 

उनले आफूहरूको पार्टी पुनर्गठनपश्चात पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए । 

‘पहिलो परिणाम प्रतिगमनकारी क्रियाकलाप गर्ने नेकपा(एमाले)को नेतृत्व झुण्डलाई सत्ताबाट तल झारेका छौँ । र देशभरीका लोकतान्त्रिक, समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभ्याएर, जुटाएर नेपालको संविधानलाई जोगाउने, राजनीतिक स्थायित्व प्रदान गर्ने काम गरेका छौँ । हामीले गरेका त्यही प्रयासका कारणले आउँदो ४ मंसिरमा देशभर आम निर्वाचन र प्रदेशसभाको निर्वाचन हुँदैछ । स्थायित्वको परिणाम यही हो,’ उनले भने ।

उनले पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको बताए । २ लाखभन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको पनि उनले जानकारी दिए । त्यस्तै, पार्टीको निर्वाचन चिह्न कलमको व्यापक प्रचार–प्रसार भइसकेको उनले बताए ।





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १८:७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया