पूर्वतयारीविना पूर्व-पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि नबढाउन सरकारलाई विकास समितिको निर्देशन

संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण कार्यहरु सम्पन्न गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्डमा देखिएको समस्या नदोहोरिने गरी पूर्वतयारीको सम्पूर्ण कार्य सम्पन्न गरेर मात्रै सो राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । 

सडकका पैदल यात्रु र त्यस वरपरका स्थानीय बासिन्दालाई समेत सहज हुने गरी सो राजमार्गको स्तरोन्नतिको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्नुर । समितिले सो राजमार्ग निर्माण गर्दा वातावरणमैत्री, प्रविधिमैत्री र वन्यजन्तुमैत्री तथा गुणस्तरीय बनाउने कार्यको सुनिश्चितताको लागि यसको डिजाइन तथा डिपिआर निर्माण गर्दाकै अवस्थामा ध्यान पुर्याउन पनि सरकारलाई भनेको छ । 

बैठकले सो राजमार्गको विभिन्न सडक खण्डमा रहेका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र वन्यजन्तु आरक्षणलगायतका सरकारका संरक्षित वन क्षेत्रहरु समेत पर्ने भएकाले वन, वातावरण तथा वन्यजन्तु संरक्षणलाई पर्याप्त ध्यान दिई सडक तथा पुल निर्माण सम्बन्धि डिपिआर र वातावरणीय अध्ययनका कार्यहरु यथाशीघ्र सहजीकरण गर्न वन तथा वातावरण मन्त्रालयलाई सचेत पनि गराएको छ ।

समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा ल्याइएको रेल सेवालाई सहज हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । सो रेल सेवामा विभिन्न समस्या देखिएकाले ती समस्याहरु हल हुने गरी रेलका लागि आवश्यक मर्मत तथा इन्धन सेन्टरको समेत तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति खड्काले बताइन् ।

समितिले विद्युतीय रेल सेवा सञ्चालनका लागि विद्युतीय संरचना निर्माणको कामलाई अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा सांसदहरुले पूर्व–पश्चिम राजमार्गमा यातायात सेवा सहज हुनेगरी त्यसको स्तरोन्नतिको कामलाई तत्काल अघि बढाउन सरकारलाई दवाव दिएका थिए । 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले डिपिआरको नाममा विकास, निर्माणको कामलाई कमाइ खाने भाँडो बनाउने काम नगर्न सरकारलाई सचेत गराए । नेपाल रेल सेवा कम्पनीलाई सरकारले राजनीतिक कार्यकर्ता भर्ती केन्द्रमा रुपमा बनाउन लागेको भन्दै उनले आपत्ति जनाए । 



सत्तारुढ नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले रेल सेवा सञ्चालनको योजना बनाउँदा पछि टाट पल्टिने अवस्था आउन नदिन सरकार अहिले नै सचेत हुनुपर्ने बताए । स्रोतको सुनिश्चित नभई कुनै पनि योजनाहरु नबनाउन पनि उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

नेकपा (माओवादी केन्द्र) गजेन्द्रबहादुर महतले पुलहरु जीर्ण भएकाले त्यसको मर्मत गरी पूर्व–पश्चिम राजमार्गको यातायातलाई सूचारु गराउने काममा केन्द्रित हुन सरकारसँग माग गरे । स्रोत र साधनको अभाव हुन नदिने गरी सो राजमार्गको स्तरोन्नतिको कामलाई अघि बढाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए । 



सांसद महतले सवारी साधनको चाप भएको ठाउँमा मात्रै सो सडक चार लेनको बनाउन उपयुक्त हुने धारणा समेत राखे । 

  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १८:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया