प्रदेश १ का सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले प्रदेश सरकारले संघ र स्थानीय दुवै सरकारसँगको समन्वयमा मझौला विकासका कामहरु अघि सारेको बताएका छन् ।
संघीय सरकारको ध्यान नपुगेको र स्थानीय सरकारको बजेटले नपुग्ने मझौला विकासका योजनाहरुलाई प्रदेश सरकारले आफ्नो प्राथमिक्तामा राख्दै आएको मन्त्री कार्कीले जानकारी दिए ।
उदयपुरको त्रियुगा नगरपालिका– ५ देउरीस्थित देउरी खोला नवनिर्मित मोटरेबल पुलको उदघाटन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । मन्त्री कार्कीले प्रदेश सरकारले स्थानीय र संघ सरकारसँगको समन्वयमा सानादेखि ठूला विकासका माग र आवश्यक्तालाई सम्बोधन गरिरहेको बताए । आगामी दिनमा पनि जनताको मागलाई प्रदेश सरकारले प्राथमिक्ता दिने उनको भनाइ छ ।
मन्त्री कार्कीले उद्घाटन गरेसँगै उदयपुरको त्रियुगा नगरपालिका– ५ देउरी खोलामा नवनिर्मित पक्की पुल सञ्चालनमा आएको छ । देउरी बजारबाट श्रीपुर जाने बाटोमा रहेको देउरी खोलामा पुल बनेपछि बस्तीबासीलाई आउजाउ गर्न सहज हुने भएको छ ।
प्रदेश सरकार, प्रादेशिक सडक पुल एकाई (पिआरबिएसयु) इटहरीमार्फत पूर्वाधार विकास कार्यालय उदयपुरको रेखदेखमा निर्मित पुलको निर्माण सुरु ०७७ जेठ १ गते भएको थियो ।
डेढ वर्षभित्र सक्ने सम्झौता भए पनि कोभिडका कारण ३ महिना म्याद थपेर ०७८ चैत ३० गते सक्नुपर्नेमा चैत २१ गते पुलको निर्माण सम्पन्न भएको कार्यालयका योजना अधिकृत तुलसी सुवेदीले जानकारी दिए ।
७१ मिटर लामो, १० मिटर चौडाइ रहेको ३ स्पानको पुल पवित्र निर्माण सेवा गाईघाटले लागत इस्टिमेट भन्दा २९ प्रतिशत कम मूल्यमा निर्माण गरेको हो ।
पुलको लागत इस्टीमेट ६ करोड ११ लाख ५१ हजार २ सय ६२ रुपैयाँ रहेकोमा निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा पवित्र निर्माण सेवाले ४ करोड ३४ लाख ६४ हजारमा निर्माणको जिम्मा लिएको थियो ।
वर्षायाममा बाढीको चपेटामा पर्दै आएका देउरी, श्रीपुर, दमौटी लगायत त्रियुगा नगरपालिका ४, ५ र ६ वडावासी वर्षौंदेखि पुलको अभावमा समस्यामा थिए । वर्षेनी बाढीले सताउने खोलामा पक्की पुल बनेपछि आउजाउ गर्न सहज भएको वडाध्यक्ष उद्धवसिंह थापाले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय प्रमुख (डिई) जितेन्द्रकुमार कर्णका अनुसार गत वर्ष नै पुल निर्माण कार्य सम्पन्न भए पनि स्थानीय तहको निर्वाचनका कारण केही समय ढिला हस्तान्तरण भएको जनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।