नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि प्रक्रियाबाटै पारित हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि प्रकृयाबाटै पारित हुने बताएका छन् । 

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रचण्डले यस्तो बताएका हुन् । ‘नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि प्रकृयाबाटै पारित हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिज्यूलाई पनि यसलाई प्रमाणित गर्नुहुन्छ, मेरो त्यहि विश्वास छ ।’

प्रचण्डले नागरिकता विधेयकका कारण मुलुकमा कुनै संकट नआउनेसमेत बताए । राष्ट्रपतिले सेना प्रमुख र पूर्वप्रमुख भेटेको प्रसंग कोट्याउँदै प्रचण्डले राष्ट्रपतिको पछिल्ला गतिविधि अस्वभाविक भएपनि त्यसले कुनै संकट ननिम्तिने बताएका हुन् ।

‘त्यस्तो कुनै संकट ल्याउने देखिँदैन, केही कुराहरू स्वभाविक देखिएको छैन । तर, पनि यसले कुनै गम्भीर संकट ल्याउने स्थिति म देख्दिन,’ प्रचण्डले भने ।

उनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको कुरा चाँडै र सजिलै मिल्नेसमेत बताए । प्रचण्डले सिटबाँडफाँटको विषय चर्चा भएजस्तो कुनै जटिल नरहेकोसमेत दाबी गरे । 

‘दलहरूको दाबी धेरै छन्, हामीले १६५ भित्रै मिलाउनुपर्ने हुन्छ,’ उनले भने, ‘सिट बाँडफाँटमा बाहिर चर्चा भएजस्तो जटिल छैन, सजिलैसँग मिल्छ । हार्ड एण्ड फास्ट कोही पनि हुनुहुँदैन, आफ्नो गोरुको बाह्रै टक्का भन्ने हुनुहुँदैन ।’ 





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १३:५४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया