\


डोरमणि पौडेल ब्याक : टिकट पाउलान् महेश बर्तौला ?
फरकधार / १२ भदौ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल आगामी मंसिर ४ गतेको निर्वाचनमा उम्मेदवारी घोषणा नगर्ने भएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत अबको निर्वाचनमा युवा पुस्तालाई पालो दिने बताउँदै आफू राजनीतिक जीवनमा रहने भए पनि यो पटक युवालाई साथ दिने पौडेलले सामाजिक सञ्जालमा लेखेका हुन् । 

उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए । अहिले देशले साँच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पुस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने  उल्लेख गरेका छन् ।

पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीति लहड, रहर र दबाब मात्रैले पक्कै चल्दैन । आवश्यकताको वस्तुपरक मूल्याङ्कनले निर्धारण गरेका कडीहरूका आधारमा उम्मेदवार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुन सक्छ भन्ने कुराको हेक्का मेरो ५० औं वर्षको राजनीतिक अनुभवले बताउँछ । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैन । दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् । अबको मेरो जिम्मेवारी नेकपा (एमाले) को उमेदवारहरूलाई विजयी गराउने हुनेछ ।’

चर्चा  युवाको
मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने चर्चा चलेका बागमती प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका डोरमणी पौडेलले अब कुनै पनि निर्वाचनमा आफ्नो उम्मेदवारी नदिने घोषणा गरेसँगै  नेकपा एमाले मकवानपुरमा युवा पुस्ताको चर्चा सुरु भएको छ । मंसिर ४ मा हुने निर्वाचनमा मकवानपुरमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा एमालेका २ नेताले आकांक्षा देखाएकोमा दुई मध्येका पनि युवा नेताका रूपमा परिचित नेतालाई प्रतिनिधि सभाको टिकट थमाउने आशंका हुन थालेका हुन् ।



एमालेका बागमती प्रदेश कमिटी उपसचिव तथा प्रचार विभागका प्रमुख महेश बर्तौला र एमालेको केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने चर्चा सुरु भएको समयमा पौडेलले युवा पुस्तालाई पालो दिने भन्ने शब्दले एमालेले युवा पुस्तालाई नै टिकट दिने आशंका चुलिएको हो । राना एमालेभित्र स्वच्छ छवि भएका भएका पाका नेताका रूपमा चिनिन्छन् भने बर्तौला विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा आएका युवा नेता हुन् । 

मकवानपुर क्षेत्र नम्बर २ का लागि राना पुराना पुस्ताका लागि परिचित अनुहार हुन् भने बर्तौलाको अनुहार अघिल्ला पुस्ताले कमै मात्रै देखेका अनुहार हुन् । यसको अर्थ पनि के बुझ्न सकिन्छ भने जनताको मन जित्नको लागि राना र बर्तौला दुवै जना मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिन चाहन्छन् । तर पार्टीको निर्णयले कसलाई अगाडी बढाउला भन्ने कुरा केही दिनमा मात्रै थाहा हुने एमालेका नेताहरू बताउँछन् । 



गत स्थानीय निर्वाचनबाट पार्टी भित्र पनि युवालाई अवसर दिनुपर्छ भन्दै दबाब बढेकाले बर्तौलाको सम्भावना बढेको छ । मकवानपुर क्षेत्र नम्बर २ मा जित्ने हेभिवेट भएको व्यक्तिको रूपमा पौडेललाई मैदानमा उत्रन पर्ने केन्द्रीय कमिटीको दबाब रहेको बताउँदै आए पनि शुक्रबारको उनको अभिव्यक्तिले अन्य आकांक्षीहरुका लागि बाटो खुल्ला भएको छ । 

मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फबाट युवा नेता महेश बर्तौला नै प्रतिनिधि सभाको निर्वाचनमा होमिने बलियो आधारहरू तयार भइरहेका छन् । युवालाई समेट्नुपर्छ भन्ने दबाब पार्टी भित्र चल्न थालेपछि बर्तौलाको पनि सम्भावना बलियो बन्दै बनेको हो । विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा लागेका बर्तौला केन्द्रीय स्तरमा सजिलैसँग पहुँच राख्न सक्ने नेता हुन् । पार्टीले युवाहरूलाई समेट्नै पर्ने दबाब र गठबन्धनका उम्मेदवारलाई हराउनका लागि नयाँ र जोसिला अनुहार लिएर जनतामाझ जानुपर्ने एमाले कार्यकर्ताको मत छ ।

यस्तो छ इतिहास
२०७९ को स्थानीय तहको निर्वाचनमा भीम फेदी गाउँपालिकाको अध्यक्ष र इन्द्र सरोवर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा मात्र एमालेले जितेको छ । जिल्लाको १ सय २ मध्ये ३३ वटा वडाका वडाध्यक्ष पदमा एमालेको बर्चस्व छ । दलहरूको एकल मत हेर्दा भने एमाले अगाडि देखिन्छ । एमाले र माओवादीको गठबन्धन हुँदा २०७४ को निर्वाचनमा सो क्षेत्रमा पर्ने मकवानपुरको राक्सिराङ गाउँपालिकाबाहेक अन्य सबैमा एमाले र माओवादी केन्द्रको गठबन्धनकै बर्चस्व रहेको थियो ।

राक्सिराङमा कांग्रेसले नेतृत्व लिँदा थाहा नगरपालिकामा माओवादी केन्द्र र अन्य सबैमा एमाले विजयी भएको थियो । उक्त गठबन्धन लामो समय टिक्न नसक्दा र एमालेभित्रबाट माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन हुन पुग्यो । त्यसको असर ०७९ को स्थानीय निर्वाचनमा देखिन पुग्यो । २०७४ मा एमाले विजयी भएको क्षेत्रमा समेत हालको सत्तारुढ गठबन्धन हाबी हुन पुग्यो ।

उक्त क्षेत्रमा एमालेले ३६ हजार ८६६ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले ३४ हजार २४०, नेकपा माओवादी केन्द्रले २२ हजार ६ सय ७ र नेकपा एकीकृत समाजवादीले २ हजार ७ सय १९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा थाहा नगरपालिका तथा मनहरी, कैलाश, राक्सिराङ, भीम फेदी र इन्द्र सरोवर गाउँपालिका पर्दछन् भने हेटौंडा उपमहानगरपालिकाको १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको ५, ६, ७, ८ वडाहरू मकवानपुरको क्षेत्र नम्बर २ मा पर्दछन् ।
 

  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ११:२६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया