काठमाडाैं– राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । साेमबारको दोेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका बीच उक्त विधेयकसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको अध्यक्ष गणेश तिमिल्सिनाले सुनाए । नेपाली काङ्ग्रेसका सांसदले अनसनरत डा. गाेविन्द केसीसँग वार्ता गर्नु पर्ने र केसीसँग भएका सम्झाैतासहित विधेयक पारित गरिनु पर्ने जनाएका थिए ।
काङ्ग्रेसका तर्फबाट सांसद राधेश्याम अधिकारीले संसदीय मर्यादा विपरीत सरकारले चिकित्सा विधेयक अघि बढाएकाले बाध्यतावश विरोध जनाउनु परेको उल्लेख गरे ।
अध्यक्ष तिमल्सिनाले चिकित्सा शिक्षा विधेयकलाई बैठकमा निर्णयार्थ पेस गरे। उनले ‘हुन्न भन्नेको आवाज नसुनिएको’ जनाउँदै ‘चिकित्सा शिक्षा विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसहमतबाट स्विकृत भएको घोषणा गरे।
विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न पनि उनले आव्हान गरे। संशोधनका लागि ७२ घन्टाको समय दिइएकाे छ ।
राष्ट्रियसभाको अर्को बैठक १७ गते बिहीबार दिउँसो २ बजे पुनः बस्ने जनाइएकाे छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।