थारू समुदायमा धार्मिक एवं साँस्कृतिक महत्त्वको अटवारी पर्वको रौनक छाएको छ । थारू समुदायले दिदी-बहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाउने गर्दछन् । भदौ कृष्णाष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबारका दिन यो पर्व मनाइन्छ ।
यो पर्वमा दाजु-भाइले दिदी-बहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बस्छन् । साँझ दाजु-भाइले नै गुइँठाको आगोमा सल्लाको धूप बनाइ बालेर भीमको पूजा गर्ने प्रचलन छ ।
कैलालीको कैलारी गाउँपालिका सागर चौधरीका अनुसार व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान बनाइन्छ । पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदी-बहिनीलाई केही भाग छुट्याएर बाँकी भाग व्रतालुले खाने चलन छ ।
अग्रासन (विवाहित चेलीबेटीहरूलाई दिइने कोसेली) दिएर फर्कने क्रममा दिदी-बहिनीले दाजु-भाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा व्रतालुले ग्रहण गर्छन् ।
यो पर्वलाई थारू समुदायको दसैँपछिको ठूलो पर्वका रूपमा मनाइन्छ । थारू समुदायका व्यक्तिले सबै काम छाडेर तीन दिनसम्म भव्यताका साथ अटवारी पर्व मनाउने गरेको धनगढीका पत्रकार प्रेम चाैधरीले बताए ।
‘थारू समुदायमा एक दिन अगाडिदेखि नै अटवारीको तयारी सुरु हुन्छ । आज र भोलि मजाल नाच्ने रमाउने गर्छन्’, उनले भने ‘दुई दिन कुनै पनि काम हुँदैन् ।’
थारू समुदायको बसोबास रहेका कैलालीसहित कञ्चनपुर, बाँके, बर्दिया, दाङलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्त्वका साथ मनाइन्छ ।
यस पर्वका दिन आज दिनभर गाउँ–गाउँमा नाचगान भइरहेको छ । अटवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले तराईका जिल्ला कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदासमेत दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।