काठमाडौं– युएईसँगको पहिलो वन डे इन्टरनेसनल सिरिज नेपालले २–१ ले जितेको छ । तेस्रो खेल आज ४ विकेटले जितेसँगै ११ माघदेखि युएईको दुबईमा चलेको सिरिज नेपालले आफ्नो नाम गर्यो ।
पहिलो खेलमा ३ विकेटको हार बेहोरेको नेपालले त्यसपछिका दुई खेल लगातार जित्दै सिरिज आफ्नो नाम गरेको हो ।
पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १ सय १३ रन बनाएको थियो । ३३.५ ओभरमा सबै विकेट गुमाएर नेपालले युएईसामु १ सय १४ रनको झिनो लक्ष्य दिएको थियो, जुन युएईले ३२.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
त्यसपछिका दुई खेलमा भने नेपालले कब्जा जमायो । टस जितेर पहिले ब्याटिङ रोजेको दोस्रो खेलमा नेपालले २ सय ४२ रनको विशाल स्कोर बनायो । सो खेलमा नेपालले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ४३ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको युएईले १९.३ ओभरमा सबै विकेट गुमाएर ९७ रन मात्र बनायो । खेल १ सय ४५ रनको फराकिलो अन्तरले नेपालले जित्यो ।
तेस्रो खेलमा टस जितेर नेपालले फिल्डङ रोज्यो । युएईले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । २ सय ५५ रनको विजयी लक्ष्य लिएर मौदान छिरेको नेपालले ६ विकेटको क्षतिमा ३२ बल बाँकी छँदै लक्ष्य भेट्टायो ।
पारस खड्काको पहिलो ओडिआई शतक
सिरिजका दौरान नेपाली क्रिकेट कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा पहिलो शतक बनाए । सोमबार भएको तेस्रो खेलमा पारसले १ सय १५ रन बटुले ।
१ सय ९ बलको सामना गरेका खड्काले १५ चौका र १ छक्का प्रहार गरे । यो कुनै पनि नेपाली खेलाडीले ओडिआईमा प्रहार गरेको पहिलो शतक हो । शतकसँगै पारस म्यान अफ द म्याच पनि भए ।
रोहित पौडेलको वर्ल्ड रेकर्ड
नेपालका युवा क्रिकेटर रोहितकुमार पैडेलले सबैभन्दा सानो उमेरमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान कायम गरे । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा आइतबार अर्धशतक बनाउँदा पौडेल १६ वर्ष १ सय ४६ दिनका थिए ।
यसअघि, भारतीय क्रिकेटर सचिन तेन्दुलकरले १६ वर्ष २ सय १३ दिन तथा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए । पौडेलले विश्व क्रिकेटका यी दुवै हस्तीको रेकर्ड तोड्दै आफ्नो ओडिआई अर्धशतक हान्नेमा कान्छो खेलाडीको रेकर्ड आफ्नो नाम गरे ।
एकै ओडिआईमा ५ विकेट
दोस्रो खेलमा आइतबार सोमपाल कामीले ५ विकेट लिए । यसअघि कुनै पनि नेपाली खेलाडीले एकदिवसीय प्रतियोगितामा एकै खेलमा ५ विकेट लिएका थिएनन् ।
आइतबार ६.३ ओभर बलिङ गरेका सोमपालले १ मेडनसहित ३३ रन दिएर ५ विकेट लिएका थिए । उत्कृष्ट बलिङ गरेका सोमपाल प्लेयर अफ द म्याच पनि भए ।
चार खेलाडीको ओडिआई डेब्यु
दोस्रो ओडिआई सिरिज खेलेको नेपालले ४ खेलाडीको डेब्यु गरायो । पहिलो खेलमा विनोद भण्डारी, पवन सर्राफ र ललित राजवंशीले डेब्यु गरे भने तेस्रो खेलमा सन्दीप झोरले डेब्यु गरे ।
तेस्रो अन्तिम खेलमा शतक प्रहार गर्दै नेपाललाई जित दिलाएका कप्तान प्लेयर अफ द म्याचसँगै प्लेयर अफ द सिरिज पनि भए ।
यससँगै सिरिजमा पारसले केही महत्वपूर्ण उपलब्धि हासिल गरे । सर्वाधिक रन बनाउने खेलाडी बनेका कप्तान पारसले तीन खेलको सिरिजमा कुल १५६ रन बनाए। यो दोस्रो सर्वाधिक रन बनाउने साइमन अन्वारको भन्दा ५८ रन बढी हो । पहिलो खेलमा २० रन बनाएका पारसले दोस्रो खेलमा २१ र तेस्रो खेलमा ११५ रन प्रहार गरेका थिए ।
उनले एकै इनिङमा सर्वाधिक बाउन्ड्री प्रहार गर्ने रेकर्डसमेत बनाए । सिरिजको तेस्रो खेलमा पारसले १५ चौका र १ छक्का गरी १६ बाउन्ड्री हानेका थिए ।
बलिङतर्फ पनि पारसको प्रस्तुति दमदार रह्यो । तीन खेलमा उनले चार विकेट लिए । बलिङमा सिरिजभर बेस्ट इकोनोमी पारसकै रह्यो । तीन खेलमा उनको एभरेज इकोनोमी ३.८५ रह्यो, जुन कम्तीमा १५ ओभर बलिङ गर्ने बलरमध्ये सबैभन्दा राम्रो इकोनोमी हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।