के अफगानिस्तानमा १७ वर्षे द्वन्द्व अब अन्त्य हुँदै छ ?

एजेन्सी– अमेरिकी र तालिबान समूहबीच भएको वार्ता टोलीले शान्ति सम्झौताका लागि एउटा ढाँचामा सहमति जनाउने संकेत देखाएका छन् । यस्तो भएमा अफगानिस्तानमा १७ वर्ष यता जारी युद्ध सकिने छ । अमेरिकी वार्ताकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चारमाध्यमले अब केही समयमा अर्को टुङ्गोमा पुर्याउने वार्ताको आह्वान गरिएको जनाएका छन् ।

अमेरिकी टोलीले तालिबान समूहसँग गत साता कतारमा ६ दिन लामो वार्ता गरेका थिए । अफगानिस्तानका राष्ट्रपतिले सीधा वार्ताका लागि इस्लामिस्ट समूह तालिबानलाई आह्वान गरेका छन् । तर, तालिबान समूहले सरकारलाई पपेट भन्दै यो वार्ता अस्वीकार गर्दै आएको छ । 

तालिबानले अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म सत्ता सम्हालेको थियो । त्यसयता यो समूहले अफगानिस्तानमा सशस्त्र द्वन्द्व गर्दै आएको छ । 

सन् २००१ को सेप्टेम्बरमा वासिङटनमा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरे पछि यो समूह सत्ताबाट बाहिरिएको थियो । 

विश्लेषकहरुले शान्ति सम्झौता भएमा यो सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन् । अफगानिस्तान सम्झौताका लागि अमेरिकी प्रतिनिधि जालमाय खालिजादले केही दिनअघि मात्र काबुलमा तालिबानसँग भएको वार्ताबारे ब्रिफ गरेका थिए ।

एकातिर अमेरिकी समूहसँग भएको वार्ता सकारात्मक भएको बताइएको छ भने अर्कोतिर तालिबानले अफगानी सरकारसँग वार्ता नगर्ने अडान राखेपछि यो सम्झौता कार्यान्वयन नहुने हो कि भन्ने चिन्तासहितका विश्लेषण पनि गरिएको छ ।



तर, कतारमा भएको वार्तालाई ठोस निष्कर्षमा पुर्याउन अमेरिका तत्पर भएको विश्लेषण पनि छन् । त्यसमाथि कतारमा भएको यो वार्ता तालिबानसँग अहिलेसम्मकै सबैभन्दा लामो वार्ता भएकाले पनि त्यसले सकारात्मक सन्देश दिने विश्लेषण छ । 

वार्तामा तालिबानले अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक हटाउने र आफूहरुले पनि अलकायदाजस्ता संगठनलाई अफगानिस्तान प्रयोग गर्न नदिने विषयमा सहमति जनाएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।



दुवै टोलीले सहमतिमा पुग्न थप वार्ताहरु आवश्यक भएको निष्कर्ष निकालेका छन् ।

केही दिनअघि वल्र्ड इकोनोमिक फोरममा अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सरकार शान्तिका लागि प्रयासरत रहेको बताएका थिए । उनले त्यहाँबाट पनि आफूहरु वार्ताका लागि तयार भएको बताएका थिए । 

यसअघि सन् २०१५ मा तालिबानसँग अफगान सरकारको वार्ता खासै लामो समय चल्न सकेन । पाकिस्तानमा भएको वार्ता तालिबान नेता मुल्लाह ओमरको मृत्युको समाचारसँगै यो वार्ता रोकिएको थियो । त्यसअघि सन् २०१३ मा कतारमा भएको वार्ता अफगान राष्ट्रपति हामिद करजाईले आफूहरुको अवमूल्यन भएको भन्दै टुङ्ग्याएका थिए । 

अब अहिलेको वार्तामा अमेरिकी वार्ता टोली संलग्न भएकाले यो वार्ता ठोस निष्कर्षमा पुग्ने अनुमान छ ।

अफगान राष्ट्रपतिका अनुसार सन् २०१४ मा उनले सत्ता सम्हाले यता तालिबानसँगकाे युद्धमा ४५ हजारभन्दा धेरै अफगान सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ ।

  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार २०:२६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया