सिटीको फराकिलो जितमा हालान्डको ह्याट्रिक

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । उसले घरेलु मैदानमा नटिङ्घम फरेस्टविरुद्ध ६–० को फराकिलो जित हात पारेको हो ।

इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले ह्याट्रिक पूरा गर्दा जुलियन एल्भारेजले दुई र जाओ कान्सेलोले एक गोल गरे । खेलको १२ औं मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । २३ औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

३८ औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता बनायो । लिगमा हालान्डको यो लगातार दोस्रो ह्याट्रिक हो । अघिल्लो खेलमा उनले क्रिस्टल प्यालेसविरुद्ध पनि ह्याट्रिक गरेका थिए ।

५० औं मिनेटमा कान्सेलोले टोलीका लागि चौथो गोल गरे । ६५ र ८७ औं  मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई फराकिलो जित दिलाए । यो जितसँगै ५ खेलमा १३ अंक जोडेको सिटी दोस्रो स्थानमा रहँदा पराजित फरेस्ट समान खेलबाट ४ अंकका साथ १५ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा आर्सनलले एस्टन भिल्ला तथा लिभरपुलले न्युकासल युनाइटेडविरुद्ध समान २–१ को जित हात पार्दा, वेस्टह्यामले टोटेनहमसँग १–१ तथा बर्नमाउथले उल्भ्ससँग गोलरहित बराबरी खेले । 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार ६:५०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया