सिट बाँडफाँटको विषयमा सहमति नजिक सत्ता गठबन्धनका शीर्ष नेता

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सिट बाँडफाँटको विषयमा लगभग सहमति जुटेको छ । बिहीबार ११ घण्टासम्म  चलेको गठबन्धन बैठकमा शीर्ष नेताहरूबीच सिट फाँडफाँटको विषयमा लगभग सहमति जुटेको हो ।  

बैठक दुईदिनसम्म आ–आफ्ना पार्टीभित्र आन्तरिक छलफल गर्ने र त्यसपछि कार्यदल तथा शीर्ष नेताको बैठकबाट सिट बाँडफाँट टुंगो लगाउने सहमति भएको छ । कार्यदलका एक सदस्यका अनुसार १०० सिट दाबी गरिरहेको नेपाली कांग्रेसले केही सिट घट्न लचकता देखिएको छ ।  

कांग्रेसले आफूहरूले ९० सिट हाराहारी पाउनुपर्ने माग राख्दै आएको छ । यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने १६५ मध्ये आधा कांग्रेस र बाँकी गठबन्धनका अन्य दलका लागि छाड्नुपर्ने बताउँदै आएका छन् । 

प्रचण्डको प्रस्तावअनुसार कांग्रेसले ८२ को हाराहारीमा सिट पाउँछ । यद्यपि प्रचण्डको यो प्रस्तावमा कांग्रेस नेताहरू सहमत छैनन् । कम्तिमा पनि ८८/९० हाराहारीमा आफूहरूले सिट पाउनुपर्ने कांग्रेस नेताहरूको भनाइ छ ।  

कार्यदल सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार न्यायोचित तथा सम्मानजनक हिसाबले सिट बाँडफाँट हुनेछ । ‘न्यायोचित, सम्मानजनक र सबैले मैले जितेँ भन्ने स्प्रिटका साथ सिट बाँडफाँटका कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘दुई दिन आ–आफ्दा दलभित्र आन्तरिक छलफल गर्ने र त्यसपछि बस्ने बैठकले सिट बाँडफाँट गर्छ ।’ 

कार्कीले सिट बाँडफाँट चुनौतीपूर्ण भए पनि दलहरू सहमतिनजिक पुगेको पनि बताए । ‘एकले अर्कोको संवेदनशीलता राम्रोसँग बुझ्ने र निष्कर्ष पुग्ने हो । सिट बाँडफाँट अब ढिला गर्न हुन्न । समयको पनि चाप छ । दलहरूले उम्मेदवारका नाम सिफारिस गर्न भनिसकेका छन्, उम्मेदवारको मनोनयन गर्ने दिन पनि नजिकिँदै छ,’ कार्कीले भने ।



यसअघि कार्यदलमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । गठबन्धनको पछिल्लो बैठकमा भने शीर्ष नेताहरू आफ्नो दाबीमा केही लचक देखिएका छन् । 



  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ७:४५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया