नेता-कार्यकर्ताले साथ छोड्दा एक्लिँदै विना मगर, आगामी निर्वाचन असहज हुने अनुमान
फरकधार / १७ भदौ, २०७९
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार महेन्द्रनगर स्मारकमा खादा लगाएर सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता एवं संविधानसभा सदस्य दुर्गा खुनासहितका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराए । माओवादी छाडेर एमालेमा आएका गिरी बेलडाँडी गाउँपालिकामा बलियो पकड जमाएका नेता हुन् । 



माओवादी केन्द्रबाट उनी २०७० को संविधानसभा सदस्यको निर्वाचन तत्कालीन कञ्चनपुर क्षेत्र नं. ४ बाट लडेका थिए । माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री विना मगरको क्षेत्रका उनी पार्टीभित्र जिम्मेवारीविहीन बनाइएका थिए । माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बन्नबाट रोकिएपछि उनी असन्तुष्ट थिए ।

त्यसो त विनाको साथ छाड्ने गिरी एक्ला नेता होइनन् । विनाको क्षेत्रका धेरै नेता-कार्यकर्ता माओवादी छाडेर अरू पार्टीमा प्रवेश गरिसकेका छन् । गृहनगर पुनर्वासबाट विनाको साथ छाड्ने क्रम सुरु भएर लालझाडी, बेलौरी हुँदै बेलडाँडीसम्म पुगेको छ । 



गिरीले बुधबारदेखि बेलडाँडीमा पनि विनाको साथ छाडेका छन् । उनीसँगै स्थानीय तह निर्वाचनमा बेलडाँडी गाउँपालिकाको उपाध्यक्ष लडेकी कल्पना गिरीले पनि माओवादी छाडेकी छन् ।



सांसद मगरको माओवादीको केन्द्रसम्म पकड छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की बुहारीसमेत रहेकी विना माइतीघरमा बसेर राजनीति गर्दै आएकी छन् । २०७० को संविधानसभा सदस्य निर्वाचनमा पराजित भएकी उनी चार वर्षअघि फराकिलो मत अन्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

आगामी निर्वाचनमा पनि उनी चुनाव लड्ने तयारीमा छिन् । २०७४ मा एमालेसित गठबन्धनबाट जितेकी उनले यस पटक कांग्रेसको सहयोग पाउँदै छिन् । कांग्रेस माओवादीसहितको सत्तारूढ गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरी सिट बाँडफाँटको विषय उत्कर्षमा छ ।

विनाले फेरि टिकट पाउने निश्चित भए तापनि नेता-कार्यकर्ता भने पार्टी छाडेर अन्यत्र जान थालेका छन् । माओवादीको हेडक्वाटरसित पहुँचका आधारमा विना मात्रै प्राथमिकतामा पर्ने भएपछि नेता-कार्यकर्ता असन्तुष्ट हुन थालेका हुन् । माओवादी केन्द्रमा बसेर असन्तुष्टि व्यवस्थापन गर्न नसकिने भएपछि उनी पार्टी छाडेर साँसद मगरप्रतिको असन्तुष्टि पोख्न थालेका छन् ।

सांसद मगरप्रति २०७० को संविधानसभा सदस्य निर्वाचनदेखि असन्तुष्टि पोख्न थालिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मगरलाई टिकट दिएपछि त्यसविरुद्ध नेताहरूले बागी उम्मेदवारी दिएका थिए । उनीहरूलाई प्रचण्डले काठमाडौं बोलाएर सम्झाएका थिए ।

माओवादीबाट छुट्टिएको तत्कालीन मोहन वैद्य समूहले चुनाव बहिस्कार गरी हराउने नीति लिएका थिए । पुनर्वासमा त्यसको नेतृत्व वीरबहादुर थापा पातलले गरेका थिए । सांसद मगर हारेपछि माओवादी केन्द्र फर्किएका उनी दुई वर्षअघि एमाले आएका थिए । केही महिना एमाले जिल्ला अध्यक्ष भएका उनी आठौं जिल्ला अधिवेशनमा पराजित भएका थिए ।

माओवादी केन्द्र फर्केपछि थापा २०७४ मा पुनर्वास नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । त्यसपछि माओवादी केन्द्रको जिल्ला अध्यक्ष भएका उनी तत्कालीन नेकपाको अध्यक्ष हुँदा सर्वोच्च अदालतले नेकपा विघटन गरेपछि एमाले आएका थिए ।

पुनर्वासमा थापासहित पदम पुजारालगायतले पनि विनाको छाडिसकेका छन् । पुजारा एमाले पुनर्वास नगरकमिटीको अध्यक्ष छन् । उनी स्थानीय तह निर्वाचनमा एमालेबाट पुनर्वासको मेयर लडेका थिए ।

सांसद मगरले सबैभन्दा बढी प्राथमिकता दिएको बेलारी नगरपालिकामा पनि उनलाई नेता-कार्यकर्ताले छाडेका छन् । स्थानीय तह निर्वाचनमा यज्ञ कँडेल एमाले फर्किएका थिए । २०७४ को निर्वाचनमा एमाले छाडेर माओवादी गएका कँडेल यस पटक एमाले फर्किएका छन् । माओवादी केन्द्रका नेता बलदेब बुडाल, राधाकृष्ण जोशी, प्रेम सिह बोहरालगायत त्यसअघि नै एमाले आएका थिए ।

बेलौरीका मेयर पोतिलाल चौधरीलाई जिताउन विनाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बेलौरी बोलाएर चुनावीसभा गरेकी थिइन् । उनी जिल्ला आउँदा अधिकांश समय बेलौरीमा बिताउने गरेको नेताहरू बताउँछन् ।

लालझाडी गाउँपालिकाका माओवादी केन्द्रका नेता खेमराज ओझा नेकपा विघटनपछि एमाले आएका थिए । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले लालझाडीमा अध्यक्ष उपाध्यक्षसहित अधिकांश वडा गुमाएको छ । लालझाडीमा उम्मेदवार जिताउन विना मौन अवधिमा भोजभतेर गरेपछि चौतर्फी आलोचना भएको थियो ।

माओवादी नेता-कार्यकर्ताबाहेक सत्तारूढ कांग्रेसका नेता-कार्यकर्ता पनि चुनावमा विनालाई असहयोग गर्ने मनस्थितिमा छन् । ‘चुनाव जितेपछि आफ्नो क्षेत्रका लागि केही पनि गर्न नसक्ने नेतालाई गठबन्धन भए पनि स्वीकार गर्न सकिँदैन’ कांग्रेसका एक महाधिवेशन प्रतिनिधिले भने, ‘चुनावमा विवेकको अधिकार प्रयोग गर्छौं ।’

माओवादीका नेता-कार्यकर्ता छाडेर अन्यत्र जान थालेपछि विनालाई आगामी निर्वाचन असहज हुने अनुमान गर्न थालिएका छन् । पाँच वर्षअघि एमालेको सहयोगमा फराकिलो मतान्तरले जितेकी उनी २०७० को निर्वाचनमा तेस्रो भएकी थिइन् । कांग्रेसका दिवान सिंह विष्टले चुनाव जित्दा एमालेका लालबहादुर बिक दोस्रो भएका थिए ।

स्थानीय तह निर्वाचनमा विनाले आफ्नो निर्वाचन क्षेत्रमा पकड गुमाएकी छन् । बेलौरीबाहेक अन्य तीन स्थानीय तहमा पनि माओवादी केन्द्रको कमजोर नतिजा आएको छ । लालझाडीमा माओवादी केन्द्रले अघिल्लो जितलाई कायम राख्न असफल भएको छ । बेलडाँडीमा माओवादी केन्द्रका लागि पछिल्ला दुई निर्वाचन निराशाजनक भएका छन् ।

एकीकृत समाजवादीसित गठबन्धन गरी चुनाल लडेका आफ्नै गृहनगरमा पनि विना कमजोर देखिएकी छन् । स्थानीय तह निर्वाचनमा पुनर्वासको मेयर/उपमेयर दुबै कांग्रेसले जितेको छ । माओवादी सहयोगमा मेयर लडेका निवर्तमान मेयर जीवनराज थापा २०७४ मा माओवादी केन्द्रका वीरबहादुर थापाले ल्याएको मतभन्दा कम मत ल्याएका छन् ।

  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १६:८:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया