हरेक वर्ष बजेट आउँछ, तर पाँच वर्ष बित्दा पनि बनेन ‘वाचिङ फायर भ्यु टावर’

२०७५/०७६ यता निर्माण सुरु भएको वीरेन्द्रनगरको भ्यु टावरमा हालसम्म करिब २८ लाख रुपैयाँ खर्च भइसकेको छ । वीरेन्द्रनगर नगरपालिका–११ स्थित सामुदायिक वन क्षेत्रमा कर्णालीको उद्योग, वन तथा पर्यटन मन्त्रालयको बजेटबाट ‘वाचिङ फायर भ्यू टावर’ निर्माण भइरहेको हो । 

देउती सामुदायिक वन क्षेत्रको अग्लो डाँडामा बनाउन लागिएको टावरको मुख्य उद्देश्य डढेलो लागेको वन क्षेत्र अवलोकन गर्नु हो । निर्माण सुरु गरिएको पाँचौं वर्षमा प्रवेश गर्न लाग्दै गर्दासमेत उक्त भ्यु टावर अहिलेसम्म पनि निर्माण हुन सकेको छैन । 

प्रत्येक आर्थिक वर्ष भ्यु टावरका लागि कर्णाली प्रदेश सरकारले बजेट विनियोजन गर्छ । तर, खर्च हुँदैन । २०७५/०७६ मा कर्णालीसरकारले ‘देउतीमाई फायर वाचिङ्ग भ्यू टावर’ निर्माणका लागि २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोपछि पनि प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन भयो । तर, खर्च भने ज्यादै न्यून छ ।

‘देउतीमाई फायर वाचिङ्ग भ्यू टावर’को निर्माण उपभोक्ता समिति अध्यक्ष रत्नबहादुर चन्दले भने, ‘बजेट आए पनि हामीले काम गर्न सकेका थिएनौँ । असारमा आएर मात्र काम गर्नलाई स्वीकृती आउथ्यो । असारमा मात्र कसरी काम गर्ने?’

चालू आर्थिक वर्षको बजेट कार्यान्वयन भए निर्माण सम्पन्न हुने उनी बताउँछन् । फोटो क्याप्सनः निर्माणाधीन अवस्थामा रहेको देउतीमाई फायर वाचिङ्ग भ्यु टावर । तस्बिर : पुनम बिसी/फरकधार

चन्दका अनुसार २०७५/०७६ मा प्रदेश सरकारबाट २६ लाख बजेट विनियोजन भएको थियो । सो समयमा निर्माण उपभोक्ता समितिले करिब साढे ८ लाख मात्र खर्च गर्न सकेको उनी बताउँछन् । सोपछि अर्को आर्थिक वर्षमा १५ लाख रुपैयाँ बराबरको खर्च गरियो ।



२०७५/०७६ मा ‘फाउन्डेसन’ निर्माण गरिएको यो टावरका लागि प्रदेश सरकारले २०७६/०७७ मा ४५ लाख बजेट विनियोजन गरेको थियो । यसरी प्रदेश सरकारबाट करिब २३ लाख बढी रकम बजेट खर्च भइसकेको छ । यसका साथै निर्माण उपभोक्ता समितिले टावर निर्माणका लागि अझै ऋण तिर्न बाँकी रहेको बताउँछ । अध्यक्ष चन्दले भने, ‘हामीले करिब पाँच लाख रुपैयाँ अझै तिर्न बाँकी छ । वन समितिसँग लिएको सापटी तथा क्रसर उद्योगहरुबाट ल्याएको निर्माण सामाग्रीको भुक्तानी बाँकी नै छ ।’

भ्यु टावर निर्माणका समयमा देउतीबज्यै सामुदायिक वनमार्फत उपभोक्ता समितिले ३ लाख रुपैयाँ नगद सापटी लिएको थियो । जुन रकम हालसम्म पनि भुक्तानी भएको छैन । टावर निर्माणमा रकम अभाव भएको र निर्माण बिल पास भएपछि भुक्तानी गरिने शर्तमा वन उपभोक्ता समितिको कोषबाट रकम लिइएको जानकारहरू बताउँछन् ।



देउतीबज्यै सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर खड्काले भने, ‘हाम्रो वन उपभोक्ता समितिको कोषमा भएको रकम उहाँहरूले सापटी लिनुभएको रहेछ । त्यो अहिलेसम्म पनि भुक्तानी भएको छैन ।’

समितिको कोषमा रहेको रकम कुन प्रयोजनका लागि तथा कुन आधारमा दिइएको विषयमा भने उनले अनविज्ञता प्रकट गरे । ‘मेरो नेतृत्वमा अहिले नयाँ उपभोक्ता समिति छ । हामीभन्दा पहिलेको उपभोक्ता समितिले नगद सापटी दिएको रहेछ । समितिको लेखापरीक्षण गर्दा ३ लाख रुपैयाँ सापटी दिएको देखिन्छ । उहाँहरूले बजेट आएपछि फिर्ता गर्छौँ भन्नुभएको छ’, खड्काले भने ।

देउतीमाई फायर वाचिङ्ग भ्यु टावरबाट सुर्खेतका तीन स्थानीय तहको जंगल क्षेत्र अवलोकन गर्न सकिन्छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका र लेकवेशी नगरपालिकाको वन क्षेत्र अवलोकन गर्न सकिने डिभिजन वन कार्यालयका वन अधिकृत सूर्यप्रसाद शर्माले जानकारी दिए ।

‘टावरमार्फत तीनवटा स्थानीय तहका वन क्षेत्र अवलोकन गर्न सकिन्छ । यसले वनमा लाग्ने डढेलो नियन्त्रणमा सघाउ पुग्छ’, उनले भने । चालू आर्थिक वर्षका लागि समेत कर्णालीसरकारले उक्त भ्यु टावर निर्माणका लागि क्रमागत रूपमा पुनः २५ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले पर्यटन प्रर्वद्वन कार्यक्रम/पर्यापर्यटन विकास शिर्षकमा भ्यु टावरका लागि बजेट विनियोजन गरेको हो ।

यसअघि उक्त भ्यु टावर निर्माणका लागि ६५ लाख रुपैयाँ खर्च हुने इष्टिमेट भएको थियो । चार तला र त्यसको माथि ट्रष्ट निर्माण गर्ने योजना छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्दले भने, ‘अहिलेसम्म तीन तला भएको छ । चार तलाको बनाएपछि त्यसमाथि हुने ट्रष्टबाट अवलोकन गर्न सकिने व्यवस्था हुने योजना हो ।’

  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १२:१०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया