[चोभारको चासो–८]  नक्सा पास भएकै छैन सुक्खा बन्दरगाहको

काठमाडौं– सरकारले नक्सा पास नगरिकनै चोभारमा सुक्खा बन्दरगाहको शिलान्यास गरेको फेलापरेको छ । इन्टरमोडल ट्रान्सपोर्ट विकास बोर्डसँग बन्दरगाहको नक्सा त छ, तर उसले नक्सा पास गर्ने प्रक्रिया भने सुरु गरेकै छैन ।

स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले कडा सुरक्षा घेराबीच शिलान्यास गरेको बन्दरगाहको नक्सा पास गर्न नगरपालिकामा निवेदन नै नआएको कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले बताएकी छन् । नगरपालिकाकी प्रवक्तासमेत रहेकी उपमेयर खड्काले भनिन्, ‘नक्सा पास नगरी निर्माण सुरु गर्न पाइँदैन, तर बन्दरगाहको नक्सा हाम्रो प्रक्रियाम आएकै छैन ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहमा कुनै पनि सरकारी वा गैरसरकारी संरचना निर्माण गर्दा स्थानीय सरकारबाट नक्सा पास गराएर मात्रै निर्माण गर्नुपर्ने हुन्छ । ऐनले व्यवस्था गरेअनुसार नक्सा पासको लागि निवेदन दिएपछि उक्त स्थानीय तहले प्रस्तावित नक्सामाथि स्थानीयको गुनासो र राय सुनेर मात्रै नक्सा पास गर्ने वा नगर्ने निर्णय गर्न सक्छ ।

चोभारवासीले सुक्खा बन्दरगाहको विरोध गरेकै कारण बोर्डले नक्सा पासका लागि नगरपालिकामा निवेदन नदिएको स्थानीय बताउँछन् । नक्सा पास नगरिएको इन्टरमोडलका कार्यकारी निर्देशक रविशंकर सैँजु पनि स्विकार्छन् । उनी भन्छन्, ‘यही महिनाभित्र नक्सा पासको प्रक्रिया सुरु हुन्छ ।’ 

बन्दरगाहको डिजाइन भारतको आरभी एसोसिएट्स इन्जिनियर्स एन्ड कन्सल्ट्यान्ट्स प्रालि र नेपाली कम्पनी फुल ब्राइट कन्सल्ट्यान्सीले गत वर्षै तयार गरेका हुन् । कन्सल्ट्यान्सीले बनाएको डिजाइनअनुसार नै बोर्डले चोभारमा बन्दरगाह निर्माण गर्न लागेको छ ।



जनवरी २०१७ मै डिजाइन तयार भएर गत माघ ३ गते शिलान्यास भइसक्दा पनि बोर्डले नक्सा पासका लागि नगरपालिकामा निवेदन दिएको छैन । स्थानीयसँग पटकपटक छलफल गरिसकेको र चोभार संरक्षण समितिले समेत पटकपटक उद्योग मन्त्रालयलगायत विभिन्न निकायमा आफ्ना सरोकार राखिसकेको सन्दर्भमा इन्टरमोडलले नक्सा पास गर्ने प्रक्रिया अगाडि बढाउन नचाहेको देखिन्छ ।



परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) रिपोर्ट तयार गर्ने क्रममा कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिहरु पटकपटक छलफल र सार्वजनिक सुनुवाइमा उपस्थित देखिन्छन् । शिलान्यास कार्यक्रमलाई भने उनीहरुले अघोषित बहिष्कार गरेका थिए । स्थानीयको विरोधकै कारण शिलान्यास पटकपटक सरे पनि नक्सा पास गर्ने प्रक्रियालाई भने बोर्डले बेवास्ता गरिरह्यो ।

यसैबीच, शिलान्यासको विरोधमा सडकमा उत्रिएको चोभार संरक्षण समिति र स्थानीयले कीर्तिपुर नगरपालिकामा बन्दरगाह चोभारमा बन्न नहुने र स्थानीयका माग सम्बोधन गर्नुपर्ने आशयको ज्ञापनपत्र केही दिनअघि मात्र बुझाएका छन् । समितिका संयोजक पञ्चलाल महर्जनका अनुसार उक्त छलफल कार्यक्रममा नगरपालिकाका मेयर रमेश महर्जनले नक्सा पास गर्ने प्रक्रिया अगाडि नबढाउने वचन दिएका छन् ।

स्थानीयवासीको विरोधका बीच शिलन्यास गरिएको भन्दै कीर्तिपुर नगरपालिकाले पनि बन्दरगाह निर्माणमा सहयोग नगर्ने बताएको छ । माघ ६ गते स्थानीयवासीको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख रमेश महर्जनले  नगरपालिकाको अनुमतिविना नगरक्षेत्रभित्र कुनै पनि भौतिक संरचना निर्माण गर्न नदिने व्यहोराको पत्र बोर्डलाई पठाउने जानकारी दिएका छन् ।

चाेभारकाे चासाे शृङ्खलाकाे पहिलाे स्टाेरी: 

सुख्खा बन्दरगाहको शिलान्यासमा राज्य आतंक

 

चाेभारकाे चासाे शृङ्खलाकाे दाेस्राे स्टाेरी:

पटकपटक किन सर्यो शिलान्यास ?

 

चाेभारकाे चासाे शृङ्खलाकाे तेस्राे स्टाेरी:

किन आन्दोलित छन् चोभारवासी ?

 

चाेभारकाे चासाे शृङ्खलाकाे चाैथाे स्टाेरी:

भूतखेलको जग्गामा ५२ वर्षको चलखेल

 

चाेभारकाे चासाे शृङ्खलाकाे पाँचाैं स्टाेरी: 

प्रदूषण र दुर्घटनाको कारक हुनेछ सुक्खा बन्दरगाह

 

चाेभारकाे चासाे शृङ्खलाकाे छैटाैं स्टाेरी: 

स्थानीयलाई छल्दै सुक्खा बन्दरगाहको सार्वजनिक सुनुवाइ

 

चाेभारकाे चासाे शृङ्खलाकाे साताैं स्टाेरी: 

अत्तोपत्तो छैन सुक्खा बन्दरगाह पुग्ने सडक

  • प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार १६:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया