माधव नेपाल भन्छन् - गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गयो
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धनभित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् ।

अध्यक्ष नेपालले आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारूढ दलबीच सहमति भए पनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे । 

पार्टीनिकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको उल्लेख गरे । 

'अहिले हामी विभिन्न पार्टीसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौँ । यो तालमेल गर्दै अघि बढ्दै जाने क्रममा नै हामी सिटको बाँडफाँड गर्न चाहिरहेका छौँ । त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ,' उनले भने, 'हामीले सम्भव तुल्याउन चाहिरहेका छौँ।' 

अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । त्यसका लागि पार्टीको हैसियत र सामर्थ्य वृद्धिका लागि सिंगो पार्टीपंक्ति परिचालन हुनुपर्ने उनको भनाइ थियो । 

अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्ती-बस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टीपंक्तिलाई सचेत गराए । 



उनले भने, ‘अब हामीले चुनावमा लाग्नु छ । चुनावका लागि नै संगठन बनाउनु छ । संगठन परिचालन गर्नुपर्नेछ । अब काठमाडौं र सदरमुकाममा बस्ने होइन । अब बस्ती-बस्तीमा जाने हो ।' 

त्यस अवसरमा अध्यक्ष नेपालले दलित समुदायमाथि अवहेलना गर्नेलाई पार्टीको सदस्यता नदिने चेतावनीसमेत दिए ।



  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १३:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया