प्रतिनिधिसभा बैठकको शून्य समयमा कुन सांसदले के भने ?
फाइल तस्वीर

प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजीबजारमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले सरकारले अहिले सञ्चालनमा रहेको स्टक एक्सचेन्जलाई सक्षम र सुदृढ बनाउनुपर्नेमा नयाँ ल्याउने तयारी गरेको भन्दै नयाँ आवश्यक नभएको बताएका हुन् । 

उनले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सचेन्ज ल्याउँदा पुँजीबजारमा असर पर्ने भन्दै भएका स्टक एक्सचेन्जलाई आधुनिकीकरण गर्न माग गरे । 

सांसद दाहालले नेपाली पुँजीबजारमा अर्को स्टक एक्सचेन्ज आवश्यक नभएकाले नयाँ स्टक एक्सचेन्ज रोक्न ध्यानाकर्षण गरे । उनले अहिले पुँजीबजारको कारोबार समेत घटेर एक अर्बमा सीमित भएको बताए ।

त्यस्तै, सांसद अञ्जना विशुङ्खेले संविधानले व्यवस्थाविरुद्ध संवैधानिक आयोगले पूर्वाग्रह राखेर जातीय तथा लैङ्गिक आरक्षण आवश्यक नभएको रिपोर्ट तयार गरेको भन्दै त्यस्तो रिपोर्टलाई तुरुन्त खारेज गर्न माग गरिन् । 

उनले जातीय तथा लैङ्गिक आरक्षण आवश्यक नभएको रिपोर्ट खारेज गर्दै समावेशी आयोगका पदाधिकारीलाई तत्काल स्पष्टीकरण सोधी कारबाही गर्न माग गरिन् ।



प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनीले देश निर्वाचनको तयारीमा लागेर निर्वाचन आचारसंहिता लागेको अवस्थामा समेत सरकारले राज्यको स्रोत-साधन परिचालन गर्नेगरी संसदको म्याद थप गर्न लागेको भन्दै विरोध जनाए । 

उनले नेपाल ऐन संशोधन विधेयक फिर्ता गर्न माग गरे । सांसद लोहनीले मन्त्रीहरूले झण्डा हल्लाउँदै चुनाव प्रचारमा जाने काम बन्द गर्न पनि माग गरे । उनले राष्ट्रिय पुनर्निर्माण पुनरावलोकन समितिको म्याद थप्नसमेत माग गरे ।



त्यस्तै, सांसद गजेन्द्रबहादुर महतले महाभियोग सिफारिस समितिमा बयान दिइरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्य स्थिति परीक्षण गर्न माग गरे । 

उनले महाभियोग सिफारिस समितिलाई दिएको बयानमा राणाले क्रममा असान्दर्भिक व्यक्ति र विषयलाई जोडेर अभिव्यक्ति दिएकाले राणाको स्वास्थ्य स्थिति परीक्षण गर्न माग गरे । 

महतले प्रधानन्यायाधीश राणाले बयानका क्रममा असान्दर्भिक व्यक्तिलाई लाञ्छना लगाइरहेको बताए ।

त्यस्तै, सांसद घनश्याम खतिवडाले वर्तमान गठबन्धन सरकार किसानका समस्यामा गम्भीर हुन नसकेको बताए । 

उनले सरकारले कृषि अनुदानका नाममा दूध र मासु उत्पादनका लागि लाइस स्टक इनोभेसन सेन्टरबाट अनुदान दिने कार्यविधि त्रुटिपूर्ण भएको बताए । 

उनले सरकारले किसानको जीवनमा खेलबाड नगर्न सरकारको ध्यानाकर्षण गराए ।  

त्यस्तै, सांसद कृष्णभक्त पोखरेलले वर्तमान गठबन्धन सरकारले बहुमतको घमण्ड देखाएर राष्ट्रपतिले सन्देशसहित राष्ट्रिय सहमतिको लागि दिएको मौका गुमाएको भन्दै इतिहासले धिक्कार्ने बताए ।

उनले चुनाव जित्नका लागि गठबन्धन नभएर साझा विचार र मुद्दाका लागि गठबन्धन गर्न सरकारको ध्यानाकर्षण गराए ।

  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १५:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया