सुर्खेतमा ७१ जनामा डेंगु संक्रमण
फरकधार / २२ भदौ, २०७९

सुर्खेतमा साउनयता सुर्खेतमा ७१ जना नागरिकमा डेंगु संक्रमण पुष्टि भएको छ । खासगरी जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा डेंगुबाट संक्रमित हुनेको संख्या बढ्न थालेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 



कार्यालयमा कार्यरत प्रयोगशाला प्राविधिक (ल्याब टेक्निसियन) दयाराम पंगालीले भने, ‘वीरेन्द्रनगर नगरपालिकाका ६ वटा वडामा डेंगुका विरामी बढ्न थालेका छन् ।’ देशभर डेंगुका विरामी बढ्न थालेपछि कार्यालयले सुर्खेतका अस्पताल तथा स्वास्थ्यचौकीमा उपचारका लागि आएका विरामीको सर्वेक्षण गरेको थियो । 

सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल, सुर्खेत अस्पताल, देउती अस्पताललगायतका स्वास्थ्य केन्द्रहरुमा डेंगुका विरामी सम्पर्कका आएका थिए । वीरेन्द्रनगर नगरपालिका–१, २, ८, १० र ११ वडामा डेंगुका विरामीको चाप धेरै रहेको पंगालीले बताए ।  



सुर्खेतमा डेंगुको जोखिम यस अघिका वर्षमा समेत थियो । प्रयोगशाला प्राविधिक पंगालीले दिएको जानकारीका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ७ सय ४६ जनामा संक्रमण देखिएको थियो । २०७८/०७९ मा भने एक सय ६३ जनामा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।



डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरस संक्रमण हो । बालरोग विशेषज्ञ डा. नवराज केसी भन्छन्, ‘डेंगु संक्रमितलाई एकदम धेरै ज्वरो आउछ । शरीर तथा हातखुट्टा बेस्सरी दुख्न थाल्छन् । यो लक्षण भएका विरामीले डेंगुको चेकजाँच गर्नै पर्छ ।’

पहिलो लक्षणसँगै पेट दुख्ने, धेरै उल्टी हुने, अलिअलि रिंगटा लाग्ने, बेहोश जस्तै हुने वा चक्कर लागि राख्ने भएमा डेंगुको दोस्रो लक्षण भएको हुनसक्छ । यसले शरिरमा रक्तचाप घटाउदै लैजान्छ र अन्त्यमा मानिसको मृत्यु पनि हुन सक्ने डा. केसीले जानकारी दिए । डेंगुका लक्षण बढ्न थालेमा तुरुन्त स्वास्थ्य परिक्षण गर्नुपर्छ । 

‘मान्छेलाई डेंगु लाग्यो भनेमा डराउन हुदैन । यसले ज्यान नै लिनसक्ने सम्भावना निकै कम हुन्छ । तर लक्षण देखिनासाथ यसको पहिचान गर्नै पर्छ । जति ढिलो पहिचान भयो त्यति खतरा बढ्दै जान्छ । त्यसैले लक्षण देखिनासाथ तत्काल स्वास्थ्य परीक्षण गर्न जरुरी छ’, केसीले भने ।

  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १२:१२:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया