नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा मंगलबार किटानी जाहेरी दर्ता गरिन् ।
सन्दीपविरुद्ध यो आरोप लागेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । जसरी सन्दीपले क्रिकेटमा विकेट लिएर चर्चा कमाउने गरेका थिए, त्यसैगरी यो घटनामा उनको ‘आचरण’ माथि निकै धेरै आलोचना गरिएको छ ।
जाहेरी दिने १७ वर्षकी किशोरीले ५ भदौको रातमा आफूलाई सन्दीपले बारम्बार जबर्जस्ती गरेको आरोप लगाएकी छन् । नेपाल प्रहरीले गौशालास्थित एक होटलमा सन्दीपले ती युवतीमाथि जबर्जस्ती गरेको उजुरी परेको पुष्टि गरिसकेको छ ।
सन्दीप अहिले क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इण्डिजमा छन् । लामिछानेलाई चितवनको क्याम्पाचौरबाट तत्कालिन नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले ‘पहिचान’ गरेर राष्ट्रिय टोलीमा स्थान दिएका थिए । पछि सन्दीपलाई अष्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान माइकल क्लार्कले हङकङको लिगबाट आफ्नो एकेडेमीमा बोलाए, प्रशिक्षणका लागि । यसले सन्दीपको क्रिकेटमा निखार ल्यायो ।
त्यसपछि नेपाली क्रिकेटको बलिङमा सन्दीपको एकक्षत्र राज रह्यो । नेपाल क्रिकेट संघ (क्यान) ले पनि सन्दीपलाई विशेष प्राथमिकता दिँदै आएको छ । क्यानले उनलाई २९ मंसिर २०७८ मा नेपाली टोलीको कप्तानमा चयन गर्यो ।
अब सन्दीपमाथि लागेको आरोपमा प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गर्ने बताएको छ । विश्व क्रिकेटमा कुनै खेलाडीमाथि यस प्रकारको आरोप लागेको पहिलोपटक भने होइन । सन्दीपअघि पनि धेरै चर्चित क्रिकेटरमाथि बलात्कारको आरोप लागेको छ । यसैबीच, आज अन्तर्राष्ट्रिय क्रिकेटमा बलात्कार आरोप खेप्ने केही नाम चलेका खेलाडीको चर्चा गर्दैछौं :
बाबर आजम
पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमलाई गत वर्ष एक माहिलाले यौन तथा शारीरिक दुर्व्यवहारको आरोप लगाएकी थिइन् । एक अन्तवार्ताका क्रममा ती महिलाले बाबरले विवाह गर्ने शर्तमा आफूमाथि दुव्र्यवहार गरेका बताएपछि त्यसले विश्व क्रिकेटमा जगतमा ठूलै तरंग ल्याएको थियो ।
पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआइए) लाई ब्ल्याकमेलिङ र उत्पीडनको आरोपमा बाबरविरुद्ध मुद्दा दायर गर्न निर्देशन दिए पनि लाहोर उच्च अदालतले त्यसलाई खारेज गरेको थियो ।
यासिर साह
पाकिस्तानी क्रिकेटर यासिर साह गत वर्ष १४ वर्षीय बालिकालाई बलात्कार र यौन उत्पडिनमा सहयोग गरेको आरोपमा पक्राउ परेका थिए । पछि पडित बालिकाले आफ्नो बयान फेरेपछि उनलाई इस्ललामाबाद उच्च अदालले निर्दोष ठहर गरेको थियो । प्रहरीका अनुसार ती बालिकाले गल्तीले यासिरको नाम लिएको बताएकी थिइन् ।
मखाया एनटिनी
सन् १९९९ को सुरुवातमा एनटिनीलाई बलत्कारको आरोपमा दोषी ठहर गरिएको थियो । तर, पछि अफ्रिकाका लागि खेल्ने पहिलो अश्वेत क्रिकेटरले आफू निर्दोष भएको प्रमाण पेस गरेकी यो आरोपबाट मुक्त भए ।
जब एनटिनीमाथि बलात्कारको आरोप लगाइयो । उनको अन्तर्राष्ट्रिय करियर लगभग अन्त्य भएको अनुमान गरिएको थियो । तर, उनले आफूलाई यो घटनाबाट बाहिर निकाल्दै २००७ सम्म देशका लागि खेल ।
उनले दक्षिण अफ्रिकाका लागि १०९ टेस्टमा ३९० तथा १७३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा २६६ विकेट लिए ।
रायन हिन्ड्स
२०१२ को वेस्ट इण्डिजका रायन हिन्ड्सलाई २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लगाइएको थियो । तर, बार्बाडोसको ब्रिजटाउनको मजिस्ट्रेट अदालतमा उपस्थित भएपछि उनलाई जमानतमा रिहा गरियो ।
जमानत रिहा गर्दा हिन्ड्ससामु आफ्नो राहदानी बुझाउनुपर्ने तथा हप्तामा १ पटक होलेटाउन पुलिस स्टेशनमा रिपोर्ट गर्नुपर्ने शर्त राखिएको थियो । उजुरीकर्ताले पर्याप्त प्रमाण पेस गर्न नसकेपछि २०१४ को फेब्रुअरीमा हिन्ड्स यौन दुव्र्यवहारको आरोपबाट मुक्त भए ।
इयान किंग
अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यका पूर्वक्रिकेटर इयान किंगलाई करिब दुई दशकअघि क्यानबेरामा २० भन्दा बढी बाल यौन दुर्व्यवहारको आरोपमा सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । पीडितको उजुरीपछि प्रहरीले सन् २००८ मा उनलाई पक्राउ गर्यो ।
किंग सन् १९८८ र १९९८ को बीचमा क्यानबेरामा जुनियर क्रिकेटर प्रशिक्षण दिएका पाँच बालकमाथि यौन दुर्व्यवहारको अपराधमा दोषी ठहरिए । तीमध्ये एकमा उनलाई आजीवन कारावासको सजाय हुने सम्भावना थियो । तर, किंगको मानसिक स्वास्थ्यका कारण सजायमा ढिलाइ हुन पुग्यो ।
२०१२ फेब्रुअरीमा सर्वोच्च अदालतले मनोवैज्ञानिक प्रतिवेदनका आधारमा किंग्सलाई निवेदन दिन योग्य ठहर गर्दै दोषी ठहर गरेको थियो । वेसहलदेखि क्विन्सल्याण्डको प्रतिनिधित्व गर्ने खेलाडीमा सबैभन्दा छिटो बलर मानिने किंग प्रथम श्रेणी क्रिकेट खेल्ने केही आदिवासी अस्ट्रेलियालीहरूमध्ये एक थिए ।
रुबेल हुसेन
२०१५ मा बंगलादेशी क्रिकेटर रुबेल हुसेनलाई उनको पूर्वप्रेमिकाले यौन सम्पर्कका लागि उनीसँग विवाह गर्ने वाचा गरेको आरोप लगाएपछि हिरासतमा लिइयो ।
१९ वर्षीया बाजिन अख्तरको आरोप बंगलादेशको कानुनअनुसार बलात्कारको दाबी हो । हुसेनले आफू निर्दोष भएको दाबी गर्दै आफूलाई जमानत अस्वीकार गर्ने अदालतको निर्णयविरुद्ध अपिल गरेका थिए ।
बजिनले आफूलाई ब्ल्याकमेल गरिरहेको उनको भनाइ थियो । यो आरोप लागेपछि उनले २०१५ को एकदिवसीय विश्वकप समेत गुमाउन पुगे । निर्दोष ठहरिएपछि उनले राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुसेन बंगलादेशका लागि २७ टेस्ट, १०४ एकदिवसीय र २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
लुक पोमर्सबाक
सन् २०१२ मा अस्ट्रेलियाका पोमर्सबाकलाई नयाँ दिल्लीको होटेलमा एक महिलालाई दुव्र्यवहार गरेको र हुनेवाला श्रीमतीलाई आक्रमण गरेको आरोपमा पक्राउ गरिएको थियो । रोयल च्यालेन्जर्स बैंग्लोरबाट आइपिएल खेल्ने पोमर्सबाकलाई जमानतमा रिहा गरियो । तर, उनले आफ्नो राहदानी बुझाउनु परेको थियो ।
पछि उनी निर्दोष साबित भए । सन् २००७ मा अस्ट्रेलियाका लागि एक टी–२० अन्तर्राष्ट्रिय खेलेका ३० वर्षीय पोमर्सबाकलाई २०१३ को इन्डियन प्रिमियर लिगका लागि किंग्स ११ पञ्जाबले ३ लाख अमेरिकी डलरमा खरिद गरेको थियो ।
यी बायाँ हाते ब्याटर धेरैपटक मादक पदार्थ सेवनका कारण समस्यामा परेको इतिहास छ । प्रहरी अधिकारीलाई कुटपिट गरेको र मादक पदार्थ सेवन गरी गाडी चलाएको स्वीकार गरेपछि जेल सजायबाट बच्न सफल भएका थिए ।
सोएब अख्तर
पाकिस्तानका पूर्वतिव्र गतीका बलर सोएब अख्तरले अस्ट्रेलिया भ्रमणका क्रममा गलत बुझाइका कारण यौन दुर्व्यवहारको आरोप खेप्नु परेको थियो । सोएबअनुसार पाकिस्तानी क्रिकेटर र एक महिलाबीच केही विवाद भएको थियो । तर, ती महिलाको गलत बुझाइका कारण उनीमाथि यौन दुर्व्यवहार आरोप लाग्यो । ती महिलाले सोएबले नै उनीमाथि विवादका क्रममा दुर्व्यवहार गरेको सोचेकी थिइन् ।
यो घटनापछि सबैले शंका गर्न थालेपछि सोएबले पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) लाई स्पष्टीकरण जारी गर्न आग्रह गरे । तर, उनले अधिकारीहरूलाई ती महिलासँग विवादमा फसेका खेलाडीको नखुलाउने शर्त राखेका थिए । पछि पाकिस्तान क्रिकेटको प्रशासकीय निकायले शोएबलाई दोषी घोषित गरिएको मिडिया रिपोर्टको खण्डन गर्दै स्पष्टीकरण जारी गरेको थियो ।
यीबाहेक मलेसियाका मिनरिक सिंह, भारतका मोनाक पटेल, हार्दिक पाण्ड्या, उदय सिंहलगायत धेरै क्रिकेटरमाथि सिन यौन दुर्व्यवहारको आरोप लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।