माओवादी पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल

नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ ।बुधबार अखिल क्रान्तिकारीको चुनावलक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्षनेताको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा असन्तुष्टि रहेको पुष्टि गरेको हो । 

यही ४ भदौमा पार्टीको पदाधिकारी चयन गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए भने उपमहासचिवमा जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादवलाई चयन गरिएको थियो । तर, यसप्रति असन्तुष्ट रहँदै जनार्दन शर्माले फरक मत पनि राखेका थिए । उनी महासचिव पदको आकांक्षी थिए ।  

पदाधिकारी चयन असन्तुष्टि १८ दिनपछि बुधबार शर्माले सार्वजनिक मञ्चमै पोखेका हुन् । अखिल क्रान्तिकारीको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू उपमहासचिवको हैसियतमा नभएर संगठन विभाग प्रमुखको रुपमा उपस्थित भएको बताए । अर्थात् उनले उपमहासचिव पद अस्वीकारको अर्थ लाग्ने गरी अभिव्यक्ति दिए । 

आफूले अध्यक्ष प्रचण्डको आलोचना र रक्षा दुवै गर्दै आएको बताउँदै उनले नेतृत्वले गलत गर्दा आलोचना गर्न विद्यार्थीलाई आग्रह गरे । यसपछि  कार्यक्रमलाई सम्बोधन गरेका अध्यक्ष प्रचण्डले उपमहासचिव शर्मालाई राजनीतिक रुपमा हुर्काउन आफूले मुख्य भूमिका खेलेको जवाफ दिए । 

 शर्मालाई लक्षित गर्दै उनले पार्टीभित्र आफूले आफ्नो उत्तराधिकारी खोजेको र तयार होऊन् भन्ने चाहेको जवाफ दिए । प्रचण्डले अब आउने उत्तराधिकारीले पनि पार्टीलाई एकताबद्ध गरेर लैजाउनुपर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १७:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया