राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

केन्यासँगको दुईपक्षीय शृंखलामा सहभागी भएर बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पाँच ट्वान्टी–२० र तीन एक दिवसीय शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार काठमाडौं फर्किएको हो । 

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको ट्वान्टी–२० शृंखला ३–२ ले जितेको थियो । यस्तै, ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो । 

भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लिएको नेपाली टोलीका उपकप्तान रोहितकुमार पौडेलले समग्रमा केन्या भ्रमण राम्रो भएको प्रतिक्रिया दिए । एक दिवसीय खेलमा कप्तानको जिम्मेवारी सम्हालेका रोहितले नयाँ खेलाडीको प्रदर्शन राम्रो भएको र आउँदा दिनमा मध्यम अवस्थामा बलिङ र ब्याटिङमा अझै सुधार गर्नुपर्ने बताए । 

यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्यासँगको शृंखला नयाँ र युवा खेलाडीका लागि अनुभव सँगाल्ने मौका भएको प्रतिक्रिया दिए । नयाँ प्रशिक्षकको योजनाअनुसार टोलीलाई अगाडि बढाउँदा नयाँ खेलाडीसँगै अन्य खेलाडीलाई पनि फाइदा पुग्ने उनले बताए । 

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि प्रदेश अनुसारको टोलीमा आबद्ध हुनेछन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हँुदै छ भने पुरुष क्रिकेट भने भदौ २३ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुँदै छ ।
 





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १८:१७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया