भोजपुर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसँगै भोजपुर जिल्लाका मुख्य समस्या समाधनका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।
भोजपुरको गोगनेमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले जिल्लाका मुख्य र महत्त्वपूर्ण सडकलाई क्रमशः स्तरोन्नति गर्दै लाने र कालोपत्रेको प्रक्रिया अगाडि बढाउने बताए । उनले भने, ‘प्रदेशसँगै जिल्लाका मुख्य समस्याको समाधानका लागि प्रदेश सरकारले योजनाबद्ध ढंगले काम अगाडि बढाएकाले जनताले छिटै विकासको अनुभूति गर्न पाउनेछन् ।’
मुख्यमन्त्री राईले भने, ‘जिल्लाका मुख्य सडक विस्तारको जिम्मा प्रदेश सरकारले लिन्छ र कतिपय ठाउँमा काम थालनी भइसकेको छ । सबै सडकलाई १२ महिना चल्ने बनाउनुपर्छ भन्नेमा मेरो ध्यान गएको छ ।’ कोटको दिप्सा, गोगने हँुदै पाँचधारे जाने सडकलाई बहुवर्षे सडकमा राखेर प्रदेश सरकारका तर्फबाट सवा एक करोड बजेट विनियोजन गरेको समेत उनले बताए ।
गुम्बादेखि गोगने हँुदै लेखर्क जोड्ने सडकलाई आगामी वर्ष उपयुक्त बजेट विनियोजन गर्ने, टेम्के पाँचधारे, तावा भञ्याङ र आसपासका क्षेत्रलाई आकर्षक पर्यटन केन्द्रका रूपमा विकास गर्ने मुख्यमन्त्री राईले बताए । सदरमुकामदेखि विमानस्थलसम्मको सडक र जिल्लामा अन्तर्राष्ट्रियस्तरको रंगशालाको चाँडै शिलान्यास गरिने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।