अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकाल्दै पाकिस्तान एसिया कपको फाइनलमा

पाकिस्तान यूएईमा जारी एसिया कप टी–२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न सुपर फोर खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो । उसले एक खेल अगावै फाइनलको यात्रा तय गर्न सफल भयो । 

अघिल्लो खेलमा पाकिस्तानले भारतलाई ६ विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पाकिस्तानले १९.२ ओभरमा पूरा गर्‍यो । उसका लागि १९ वर्षीय नसीम शाह हिरो सावित भए । 

अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि ११ रन चाहिएको थियो । उसको हातमा केवल एक विकेट थियो । तर, नसीमले ढुक्कका साथ अन्तिम ओभरको सुरुवाती दुई बलमा छक्का हिर्काउँदै खेल जिताए । 

उनले ४ बलमा दुई छक्काको मद्दतमा अविजित १४ रन जोडे । त्यस्तै, सादब खानले ३६, इफ्खिर अहमदले ३०, मोहम्मद रिजवानले २०, आसिफ अलीले १६ रन जोडे । अफगानिस्तानका लागि फजलहक फारुकी र फरीद अहमदले तीन/तीन विकेट लिए । त्यस्तै, राशिद खानले दुई विकेट हात पारे । 

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनायो । उसका लागि इब्राहिम जाद्रानले ३५, हजरतुल्लाह जजाईंले २१, राशिद खानले अविजित १८, रहमानउल्लाह गुर्बाजले १७, करिम जनतले १५, अजमातुल्लाह उमरजाई र नजिबुल्लाह जद्रानले १०/१० रन बनाए ।

पाकिस्तानका लागि हरिस रौफले दुई, नसीम शाह, मोहम्मद हसनैन, मोहम्मद नवाज र सादब खानले एक/एक विकेट लिए । यो हारसँगै अफगानिस्तान फाइनल दौडबाट बाहिरिएको छ । उसले सुपर फोरको अघिल्लो खेलमा श्रीलंकाविरुद्ध पराजय बेहारेको थियो । 



पाकिस्तानले अफगानिस्तानलाई हराएसँगै भारतको फाइनल पुग्ने सम्भावना पनि सकिएको छ । यदि पाकिस्तानविरुद्ध अफगानिस्तान विजयी भएको भए भारतको झिनो आशा बाँकी रहन्थ्यो । तर, अब भने भारतको सम्भावना समाप्त भएको छ ।

भारत सुपर ओभरको पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा श्रीलंकाविरुद्ध पराजित भएको थियो । अब उसले अन्तिम खेलमा बिहीबार अफगानिस्तानसँग खेल्ने तालिका छ ।  



  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार ६:१०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया