वेस्ट इण्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत सेन्ट लुसिया किंग्सविरुद्ध जमैका तल्लावाज २ विकेटले पराजित भएको छ । जारी सिजनमा जमैकाको यो पहिलो हार हो । उसले अघिल्लो पहिलो र दोस्रो खेलमा लगातार जित हात पारेको थियो । लुसियाको भने यो पहिलो जित हो ।
उसले अघिल्लो दुई खेलमा लगातार पराजय बेहोरेको थियो । तेस्रो खेलमा जमैकाले दिएको १६४ रनको लक्ष्य लुसियाले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । उसका लागि जोनसन चार्ल्सले उत्कृष्ट पारी खेले । ३९ बल खेलेका चार चौका र चार छक्काको मद्दतमा ६२ रन बनाए । त्यस्तै, रोशन प्राइमसले २२, टिम डेविडले २०, डेविड भिसेले अविजित १९ र निरोशन डिकवेलाले १० रन बनाए ।
त्यसअघि सेन्ट लुसियास्थित डारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६३ रन बनायो । उसका लागि अलराउन्डर रेमन रेफरले उत्कृष्ट पारी खेले ।
४१ बलको सामना गरेका उनले चार छक्का र चार चौकाको मद्दतमा ६२ रन बनाए । त्यस्तै, इमाद वसिमले २०, ब्रेण्डन किंग र केन्नर लुइसले १९/१९ रनको योगदान दिए । लुसियाका लागि स्कट कुग्लाइनले तीन, डेविड भिसेले दुई, जेभर रोयल र अल्जारी जोसेफले एक/एक विकेट लिए ।
जमैकामा आबद्ध नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आज पनि प्लेइङ–११ मा मौका पाएका पाएनन् । उनी अघिल्लो दुई खेलमा पनि बेन्चमै थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।