धनुषा प्रहरीले नगद लुटेर फरार भएका दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नम्बर–४ बस्ने २३ वर्षीय सरोज दास रहेका छन् ।
बुधबार दिउँसो साढे २ बजेको समयमा लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित मेगा बैंकबाट सोही ठाउँ बस्ने ७५ वर्षीय राम दासले १ लाख ८० हजार रुपैयाँ निकालेर घरतर्फ फर्किने क्रममा सपही गाँउबाट मोटरसाईकलमा आएका उनीहरूले दासको साथबाट सो रकम लुटेर भागेका थिए ।
फार भएकाहरूको खोजी गर्दैजाँदा उनीहरूलाई बुधबार साँझ साढे ५ बजे सपही चोकबाट पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे जानकारी दिए ।
‘सरोजलाई लक्ष्मीनिया गाँउपालिका वडा नम्बर–४ बाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा सोही ठाउँको वडा नम्बर–६ निकाल बस्ने नरेश र सरोजले बैंकबाट रकम निकाल्ने व्यक्तिको रकम लुट्नुपर्छ भनी योजना बनाएर बैंक नजिक आई नरेश बैंकमा प्रबेश गरी राम दासले बैंकबाट रकम निकाली बाहिर आउँदा मोटरसाईकलमा दुवैजना सवार भई दास एकान्त स्थानमा पुगे पश्चात रकम लुटेर फरार भएका थिए,’ प्रहरी उपरीक्षक रजौरेले भने ।
लुटिएको रकम मध्ये १ लाख ७५ हजार रुपैयाँ भरोशी भन्ने नरेश यादवको घर अगाडि उनकै छाप्रो घरमा माटोमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो । त्यस्तै, सरोज दासको साथबाट १५ हजार रुपैयाँ फेला परेको र वारदातमा प्रयोग भएको ज १२ प ८५९३ नम्बरको मोटरसाइकलसमेत बरामद भएको एसपी रजौरेले जानकारी दिए ।
यसअघि गत ९ साउनमा जनकपुरधाममा पनि धनुषाको सवैला नगरपालिका–४ पटेर्वा घर भई जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने शर्मिला देवी यादव एभरेष्ट बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा उनको साथबाट पनि दुई लाख रुपैयाँ लुटिएको थियो ।
घटनामा संलग्न रहेका लक्ष्मीनिया गाउँपालिका–७ बस्ने २० वर्षीय जितेन्द्रप्रसाद साह र सोही ठाउँ बस्ने २१ वर्षीय दीपेन्द्र मण्डललाई प्रहरीले १२ साउनमा पक्राउ गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।