बचत अपचलनको कारण जोखिममा परेको खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ऋणीलाई हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न भनेको छ ।
सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै सञ्चालक समितिले सार्वजनिक सूचनामार्फत ऋणीलाई हप्ता दिनभित्र साँवा, व्याज र हर्जना रकम चुक्ता गर्न आह्वान गरेको हो ।
हप्ता दिनभित्र ऋण फिर्ता गर्न नआउने ऋणी तथा जमानीकर्ताको चलअचल सम्पत्तिबाट कर्जा असुल उपर गर्नेदेखि सहकारी ऐन २०७४ बमोजिम सम्बन्धित सबैको नाम ठेगाना सार्वजनिक गर्ने चेतावनी दिइएको छ । मौखिकबाहेक १५ दिने र ७ दिने पत्र पठाएर ताकेता गर्दा तथा राष्ट्रिय दैनिकमा ३५ दिने सूचना निकाल्दा समेत कर्जा चुक्ता गर्न बेवास्ता गरेकाले कडाई गर्नुपरेको सहकारीले २१ भदौमा जारी गरेको सूचनामा उल्लेख छ ।
वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ १० मंसिर २०७२ देखि कारोबार सुरु गरेको सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ । एकैजना लगानीकर्ताले ४५ लाखसम्म बचत गरेका छन् । तर, सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो ।
जोशीको कोभिड–१९ को संक्रमणका कारण १५ वैशाख २०७८ मा पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिर आएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।