माओवादी केन्द्र बझाङ प्रदेशसभाका लागि भीम भण्डारी सर्वसम्मत सिफारिस

नेकपा माओवादी केन्द्र बझाङले प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का लागि प्रत्यक्षतर्फ नेता भीम भण्डारीलाई एकल उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ ।समानुपातिकतर्फ भने तीन जनालाई सिफारिस गरिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति वैकल्पिक सदस्य अस्मित सिंहले जानकारी दिए । 

उनका अनुसार समानुपातिकतर्फ सत्य चिमाडी, प्रेमलाल विक र गम्भीर थापाको नाम सिफारिस गरिएको हो । प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएका भण्डारी जनयुद्धकालका कार्यकर्ता हुन् । 

भण्डारीले माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बझाङको पहिलो जिल्ला सचिवको रूपमा काम गरेका थिए । २०५७ सालमा माओवादीले बझाङमा विद्यार्थी संगठन विस्तार गर्ने क्रममा उनी अखिल क्रान्तिकारी बझाङ सचिवमा चयन भएका थिए । 

जनयुद्धमा माओवादी केन्द्रको गण्डक अभियानमा समेत भण्डारी सहभागी भएका थिए । मुलुक शान्ति प्रक्रियामा आइसकेपछि पार्टीको विभिन्न संगठन तथा विभागमा रहेर उनले भूमिका निर्वाह गरिसकेका छन् । पार्टीको बुद्धिजीवी संगठनको केन्द्रीय सदस्यसमेत भइसकेका भण्डारी हाल सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन् ।  

भण्डारीलाई पार्टीभित्र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा माओवादी संगठन टिकाइराख्ने बलियो खम्बाको रूपमा चिनिन्छ । माओवादी विभाजन हुँदा सो क्षेत्रका पुराना नेताहरू शंकर भण्डारी, धनबहादुर मल्ल, देवकी मल्ललगायत मूल माओवादी पंक्ति छोडेर वैद्य, विप्लव समूहमा जाँदा भण्डारीले पार्टी टिकाइ राख्न मुख्य भूमिका निर्वाह गरेको माओवादी नेताहरू बताउँछन् । 





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार ११:४४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया