११ सेप्टेम्बर : अमेरिकी इतिहासको त्याे कालो दिन

आज ११ सेप्टेम्बर अर्थात् अमेरिकी इतिहासको कालो दिन हो । ११ सेप्टेम्बर सन् २००१ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चारवटा आत्मघाती बम हमला गराएको थियो । हमलाले  विश्वलाई नै स्तब्ध पारेको थियो ।

अतिवादीले क्यालिफोर्निया उड्न लागेका चारवटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिङ्टनका महत्वपूर्ण भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा विस्फोट गराइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो । १६ मिनेटपछि दोस्रो टावरमा ठोकाइएको थियो ।

विस्फोटपछि टावरमा दुई घण्टासम्म आगो लाग्यो । ११० तले दुवै भवन ढलेर खरानी भए । ९ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो । वासिङ्टनतर्फ बढिरहेको अर्को विमान पेन्सिलभेनियाकाे आकाशमा विस्फोट भयो । अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हुँदा विमान आकाशमै बिस्फोट भएको थियो ।

ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजार जनाको मृत्यु भयो । आक्रमणमा अर्बौं डलरको क्षति भयो । साउदी नागरिक ओसामा बिन लादेनको नेतृत्वको अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो । आक्रमणमा संलग्न अन्य १५ जना पनि साउद अरबका थिए । त्यस्तै, दुईजना यूएई, एकजना इजिप्टेली र अर्का लेबनानका थिए ।

हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गर्‍यो । बिन लादेनलाई पत्ता लगाउन र अल–कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुस प्रशासनले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो । आक्रमणकारीलाई अफगानिस्तानले संरक्षण गरेको अमेरिकी आरोप थियो । 

अमेरिकी आक्रमणपछि तालिबान सत्ताच्युत भयो । अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो । सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मार्‍यो ।



अतिवादीविरुद्धको दुई दशक लामो आक्रमणमा अमेरिका रित्तो हात लिएर गत ३१ अगस्टमा स्वदेश फर्किएको थियो ।  अमेरिकी सेना स्वदेश फर्किन नपाउँदै तालिबानले अफगानिस्तान कब्जा गर्‍यो । अहिले तालिबानले अन्तरिम सरकारसमेत घोषणा गरिसकेको छ ।

२० वर्ष लामो लडाइँमा तालिबानसहित अलकायदा आइएस जस्ता अतिवादी समूहका केही नेतालाई निशाना बनाउन सफल भए पनि अमेरिकाले खासै उपलब्धि पाउन सकेन । युद्धमा २४ सय अमेरिकी सेनाको मृत्यु भयो । त्यस्तै, युद्धमा ६९ हजार अफगानीको मृत्यु भइसकेको छ ।  



  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार १०:१६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया