काठमाडौं– राप्रपाका अध्यक्ष कमल थापाले कागजी रुपमा मात्र नभई व्यावहारिक रुपमै सहिदका सपना पूरा गर्नुपर्ने बताएका छन् । राष्ट्र र राष्ट्रियताप्रति समर्पण गर्दै साहदत प्राप्त गरेका सहिदप्रति तब मात्र सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।
राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सहिदहरुको सम्मान र सम्झनामा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रजातन्त्र, लोकतन्त्रजस्ता शब्द संविधान, कानुन तथा भाषणहरुमा प्रशस्त भए पनि यथार्थमा त्यसको आभाष अझै हुन नसकेको बताए । सहिदको सपनाविपरीत देशमा लुटतन्त्र र भ्रष्टाचारले मलजल पाएको भन्दै उनले दुःख प्रकट गरे ।
दल तथा नेताहरुको अकर्मण्यताकै कारण देश टुक्र्याउने आवाज उठेको, दिनहुँजसो जबर्जस्ती धर्म परिवर्तन गराउने क्रम बढेको र हत्या, भ्रष्टाचार, हिंसा, बलत्कारजस्ता कुकृत्यले सीमा नाघ्दै गएकाले वीर सहिदहरुको सपनामा तुसारापात हुने खतरा देखिएको अध्यक्ष थापाले बताए । उनले सहिदहरुको सम्मानको लागि आमजनताले परिवर्तनको महसुस गर्न सक्ने वातावरण तयार गर्न सबैमा आग्रह गरे ।
राष्ट्रवादी विचार बोकेकै कारण राप्रपाका भन्डै २०० व्यक्तित्वले साहदत प्राप्त गरकोे भन्दै अध्यक्ष थापाले उनीहरुको सपना पूरा गर्न राप्रपा सदैव दृढसंकल्पित रहेको प्रस्ट्याए ।
राज्यले घोषणा गरेका सहिदहरुमाझ पार्टीगत आधारमा गरिएको विभेद अन्त्य गर्दै सबैलाई समान व्यवहार गर्न थापाले सरकारसँग माग गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।